• २६ पुस २०८१, शुक्रबार

तिम्बुङ पोखरी ट्रेल रनमा पाँचथरका विशाल प्रथम

blog

ट्रफी, मेडल र प्रमाणपत्रका साथ ट्रेल रन प्रतियोगिताका विजेताहरु । तस्बिर : सन्तोष पुर्कुटी ।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २६ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा पाँचथर, फिदिम नगरपालिका–१४ का विशाल राई प्रथम हुनुभएको छ । तीन हजार ३८० मिटर उचाइ रहेको पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रमा बुधबार सम्पन्न भएको प्रतियोगितामा राई प्रथम हुनुभएको हो ।

रन प्रतियोगितामा प्रथम हुन सफल राईले ३० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । यस्तै द्वितीय बन्नुभएका भोटिया र तृतीय बानियाँले क्रमशः २० हजार र १० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनुभएको छ । 

प्रतियोगितामा तीन महिलासहित ३० जना प्रतिस्पर्धीले सहभागिता जनाएको आयोजकले जनाएको छ । प्रतियोगिताका विजेतालाई गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (वन्दना), जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बूलगायतले पुरस्कार राशि, ट्रफी, मेडल प्रमाणपत्र वितरण गर्नुभएको छ ।

तिम्बुङ पोखरी क्षेत्रको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । आयोजक तिम्बुङ पोखरी संरक्षण समितिका सल्लाहाकार कैलाश राईका अनुसार पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढ्दै गएको र थप पर्यटकको आगमन वृद्धि गर्न प्रतियोगिता आयोजना गरिएको हो । ट्रेल रन प्रतियोगितासहितका कार्यक्रम आयोजना गर्नाले तिम्बुङ पोखरी क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धनमा टेवा पुग्ने विश्वास राखिएको सल्लाहकार राईले बताउनुभयो ।

जिल्लाको एक मुख्य पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रमा पोखरीसहित त्यहाँ पाइने केञ्जो फूल (पदमचाल) लगायतका बहुमूल्य जडीबुटी तथा वनस्पति, डाँफे, मयुरलगायतका चराचुरुङ्गी पर्यटकलाई आकर्षित गर्ने वस्तु तथा सौन्दर्यहरू पर्दछन् । त्यस्तै दुर्लभ रेडपान्डा, याक तथा चौँरी गोठ, भेडी गोठ र हरियाली तथा फराकिलो घाँसे मैदानसहित यहाँको भूबनावटले पनि पर्यटकलाई लोभ्याउने गरेको छ ।