• २६ पुस २०८१, शुक्रबार

घरमै जन्मिन्छन् अधिकांश शिशु

blog

बुलबुले समाचारदाता

सुर्खेत, भदौ २६ गते । कर्णाली प्रदेशमा अझै पनि २८ प्रतिशत शिशु घरमै जन्मिने गरेका छन् । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार प्रदेशभर २८ प्रतिशत शिशु घरमै जन्मिने गरेका छन् ।

सर्वेक्षण अनुसार ७२ प्रतिशत बालबालिकाको जन्म स्वास्थ्य संस्थामा हुने गरेको छ । नेपालमा ७९ प्रतिशत शिशु स्वास्थ्य संस्थामा जन्मने गरेका छन् । नेपालभर अझै पनि २१ प्रतिशत शिशु घरमै जन्मिने गरेका छन् । कर्णालीमा भौगोलिक विकटता, चेतनाको अभावका कारण घरमै सुत्केरी हुनेको सङ्ख्या धेरै छ । पछिल्लो एक दशकमा स्वास्थ्य संस्थामा शिशु जन्माउने महिलाको सङ्ख्या बढे पनि अपरेसनका माध्यमबाट शिशु जन्माउने क्रम पनि बढेको छ । नेपालमा पाँचमध्ये चार शिशुको जन्म दक्ष स्वास्थ्यकर्मीबाट हुने गरेको छ । दक्ष स्वास्थ्यकर्मीबाट हुने जन्म घरपरिवारको सम्पन्नतासँगै बढ्दै गएको सर्वेक्षणले देखाएको छ ।

कुपोषणको दर बढ्दो

कर्णाली प्रदेशका बालबालिका बढी मात्रामा कुपोषणको सिकार बन्ने गरेका छन् । पछिल्ला केही वर्षयताको सरकारी तथ्याङ्क हेर्दा कर्णालीमा कुपोषणको दर पनि निकै डरलाग्दो देखिएको छ । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ठुलो सङ्ख्यामा बालबालिका कुपोषित रहेको पाइएको छ ।

सर्वेक्षण अनुसार प्रदेशमा पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिकामा पुड्कोपनाको समस्या देखिएको छ । नेपालभर २५ प्रतिशत बालबालिकामा उक्त समस्या देखिएकोमा कर्णाली अन्य प्रदेशकै तुलनामा अग्रपङ्क्तिमा देखिएको हो । त्यस्तै नेपालभर आठ प्रतिशत बालबालिकामा ख्याउटेपना देखिएको छ भने कर्णालीमा चार प्रतिशत बालबालिकामा ख्याउटेपना देखिएको छ । उक्त तथ्याङ्क अनुसार १५ देखि ४९ वर्षका १५ प्रतिशत महिलामा ख्याउटेपनाको समस्या देखिएको छ । प्रजनन क्षमता भएको उमेरका महिलामा शरीरको उचाइ अनुसारको तौल कम भएको पाइएको हो ।

बालबालिकामा नेपालभर १९ प्रतिशतमा कम तौलको समस्या देखिएको छ जबकि कर्णाली प्रदेशमा २७ प्रतिशत बालबालिकामा कम तौलको समस्या देखिएको हो । प्रदेशमा ४० प्रतिशत छ महिनादेखि ५९ महिनाका बालबालिका रक्तअल्पताबाट पीडित भएको तथ्याङ्कले देखाएको छ ।