• २६ पुस २०८१, शुक्रबार

‘देश बनाउन स्पष्ट नीति र दृष्टिकोण आवश्यक’

blog

ललितपुर, भदौ २६ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देश बनाउन स्पष्ट नीति र दृष्टिकोण आवश्यक रहेको बताउनुभएको छ । नेकपा (एमाले) युवा विद्यार्थी विशेष जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल नेपालीले नै बनाउने हो भन्ने स्पष्ट दृष्टिकोण राख्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

महासचिव पोखरेलले कुनै पनि देश बनाउने कुरा राष्ट्रको लक्ष्य र नीतिका आधारमा हुने भन्दै स्पष्ट नीति र दृष्टिकोण नभएका अराजकताका माध्यमबाट कुनै पनि देश बन्न नसक्ने दाबी गर्नुभयो । उहाँले देशमा राणा शासन अन्त्य गर्ने, पञ्चायत ढाल्ने, प्रजातन्त्र र गणतन्त्र ल्याउने काम पुरानो पुस्ताले गरेको इतिहास भुल्न नहुनेमा जोड दिनुभयो । उहाँले विकास निर्माणलाई अघि बढाउन स्पष्ट दृष्टिकोणसाथ विकास र समृद्धिको नेतृत्व गर्न वर्तमान सरकार बनेको दाबी गर्नुभयो ।

देशमा अब राजनीतिक परिवर्तनको आन्दोलन सकिएको बताउँदै महासचिव पोखरेलले अब विकास र समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताउनुभयो । अब साना र धेरै राजनीतिक दल होइन, मुलुकलाई बलियो र समृद्ध बनाउन बलिया राजनीतिक शक्ति आवश्यक परेको उहाँले उल्लेख गर्नुभयो । 

एमाले अध्यक्ष केपी शर्मा ओली देशका नेतामध्ये सबैभन्दा अध्ययनशील र नेपाली समाजलाई बुझेको र विकासको नवीन सोच प्रस्तुत गर्न सक्ने नेता भएको उहाँले दाबी गर्नुभयो । महासचिव पोखरेलले अब सबै नेपाली युवा म बनाउँछु, मेरो देश भन्ने सङ्कल्पसाथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।