बबई समाचारदाता
बबई (बर्दिया), असार ११ गते । गृह मन्त्रालयले यस वर्ष सार्वजनिक गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८२ मा बर्दिया जिल्लामा मनसुनजन्य विपत्बाट ८३ हजार ८१३ जना प्रभावित हुन सक्ने आकलन गरिएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये पहिलोमा कपिलवस्तु र दोस्रो जिल्लाका रूपमा बर्दियालाई गृह मन्त्रालयले मनसुनजन्य विपत्को जोखिममा राखेको छ । लुम्बिनी प्रदेशमा एक लाख १९ हजार ८३० घरपरिवारका पाँच लाख २३ हजार ६५६ जना प्रभावित हुने आकलन गरिएको छ भने बर्दिया जिल्लामा मात्र ८३ हजार ८१३ जना प्रभावित हुने अनुमानित तथ्याङ्क सार्वजनिक गरिएको छ । बर्दिया जिल्लामा बबई, मान र कर्णाली जस्ता तीन वटा ठुला नदी छन् । बर्सेनि ती नदीमा आउने बाढीले सयौँ घरपरिवार विस्थापित हुने गरेका छन् भने कतिपयले बाढीबाट ज्यानसमेत गुमाउने गरेका छन् । बर्दियाका आठ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी जोखिममा बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिका रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय बर्दिया सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी रोशन कठायतले गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८२ सार्वजनिक गरेसँगै बर्दियाको विपत् व्यवस्थापनको बैठक बसी बाढीबाट जोखिम पुग्न सक्ने र अन्य पालिकामा समेत विपत् व्यवस्थापन कार्ययोजना निर्माण गरी लागु गर्न सबै स्थानीय तहलाई पत्राचार गरिएको बताउनुभयो ।
गृह मन्त्रालयले पूर्वतयारी प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८२ सार्वजनिक गरेसँगै बर्दियाका स्थानीय तहसमेत बाढीबाट सुरक्षित हुन विभिन्न किसिमका कार्य सञ्चालन गर्न सुरु गरेका छन् । गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवका अनुसार बर्दियाको सदरमुकाम गुलरिया भएर बग्ने बबई नदीले सदरमुकाम गुलरियासहित मधुवन, ठाकुरबाबा र बारबर्दियालाई जोखिममा पार्ने गरेको छ । बबई नदीमा आउने बाढीले सदरमुकाम नै बाढीको जोखिममा पर्ने गरेको उहाँले बताउनुभयो । बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारूले बर्दिया जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी जोखिममा रहेको बारबर्दिया नगरपालिकाले समेत विभिन्न वडामा सचेतनाका लागि कार्यक्रम गर्दै आइरहेको बताउनुभयो ।