• ८ मंसिर २०८१, शनिबार

बिमाले जोखिमविरुद्ध सुरक्षा प्रदान गर्छ : मुख्यमन्त्री सिंह

blog

नेपाल बिमा प्राधिकरणले मङ्गलबार जनकपुरधाममा प्रदेश सरकारसँग गरेको अन्तक्रिया कार्यक्रममा सहभागीहरु । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा
जनकपुरधामण्, भदौ २५ गते । 
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बिमाले व्यक्तिको जीवन तथा सम्पत्तिको जोखिमविरुद्ध सुरक्षा प्रदान गर्ने भएकाले बिमामा हरेक नागरिकको पहुँच हुनु पर्नेमा जोड दिनुभएको छ ।

नेपाल बिमा प्राधिकरणले मङ्गलबार जनकपुरधाममा प्रदेश सरकारसँग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनु भएको छ ।

उहाँले बिमा क्षेत्रको सञ्चालनसम्बन्धी मूल जिम्मेवारी सङ्घीय सरकारलाई तोकिएको र बिमा व्यवसायको सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्य सङ्घ र प्रदेश सरकारको साझा अधिकारबाट सञ्चालन गर्ने गरी संवैधानिक व्यवस्था रहेकाले बिमा क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले बिमा गराउने व्यक्तिले बिमाका लागि क्लेम गरेको बेला विभिन्न खालका समस्याहरू उत्पन्न हुने गरेको गुनासाहरू आइरहेकाले प्रक्रियालाई सहज बनाउनका लागि नेपाल बिमा प्राधिकरणलाई आग्रह गर्नुभयो । उहाँले मधेश प्रदेश सरकारले पत्रकारहरूको स्वास्थ्य र दुर्घटना बिमा गराउने तयारी समेत गरी रहेको बताउनुभयो ।

उहाँले बिमाका लागि विगतमा दिँदै आएको २० प्रतिशत अनुदानलाई ३० प्रतिशतसम्म पुर्‍याउन सकिने जिकिर गर्नुभयो । कार्यक्रममा मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले व्यक्तिका लागि मात्रै नभएर बिमाले समाजमा समेत भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले बिमा शुल्क बापत प्राप्त रकमले देशको आर्थिक विकासका लागि आवश्यक पुजीको ठुलो हिस्साको पूर्ति गर्न सकिने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारले बिमाको समय अनुकूल पोलिसी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘‘अहिलेको समयमा मान्छेले जुवा खेल्न मान्छ तर बिमा गर्न मान्दैन । नागरिकलाई फाइदाकै लागि बिमा हो भन्ने कुरा बुझाइदिनु पर्ने आवश्यकता छ ।’’

मधेश प्रदेशमा २०८१ असार मसान्तसम्ममा एक लाख ३५ हजार ६९१ ले जीवन बिमा, तीन लाख २६ हजार २६७ ले निर्जीवन बिमा र ११ हजार ८५१ ले कृर्षी बिमा गरेको तथ्याङ्क कार्यक्रममा प्रस्तुत गरिएको थियो । अन्य प्रदेशको तुल्नामा मधेश प्रदेशमा बिमा गराउनेको सङ्ख्यामा कमी रहेको बताइएको थियो ।