• २६ पुस २०८१, शुक्रबार

अर्काको वैशाखीमा हिँडेर गन्तव्यमा पुगिँदैन : अध्यक्ष प्रचण्ड

blog

सिराहाको मिर्चैयामा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : जीवछ यादव

जीवछ यादव

लहान, भदौ २५ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्काको वैशाखीमा हिँडेर गन्तव्यमा पुग्न नसक्ने बताउनुभएको छ । 

मधेशमा पार्टी सङ्गठनलाई बलियो बनाउन मधेश प्रदेश प्रवेश गर्नुभएका प्रचण्डले सिराहाको मिर्चैया नगरपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा यस्तो बताउनुभएको हो । 

आफू मधेश आएको बेला माइती अर्थात् आफ्नै घर आएको अनुभूति हुने गरेको भन्दै दोस्रो संविधान सभामा सिराहाले चुनाव जिताएर पठाएपछि संविधान निर्माणको अभिभारा पूरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, "सम्मानित सदनमा नै भनिसकेको छु , अब २०८४ सम्म आफू सरकारको नेतृत्व गर्ने पक्षमा छैन । पार्टी बनाउन देश दौडाहा गरिरहने क्रममा मधेश प्रवेश गरेको छु । मधेशमा आउने चुनावमा पार्टीलाई पहिलो बनाउने सङ्कल्प लिएको छु । देशैभरिमा २०६४ सालको जस्तो पहिलो पार्टी बनाएर सरकार बनाउने दृढताका साथ अघि बढेको छु । अब पार्टीभित्र धोका दिनेहरु जो कोही भए पनि क्षम्य हुने छैन ।"

अहिले काँग्रेस र एमाले पहिलो र दोस्रो पार्टी मिलेर लोकतन्त्र सिध्याउने र भ्रष्टाचारीहरुलाई जोगाउन आफैं मिलेको होइन, बिचौलियाहरुले मिलाइदिएकोले संविधान संशोधनको नाममा जन अधिकार खोस्नेतर्फ सरकार अघि बढे माओवादीले सडक र सदनबाट त्यसतो गर्न नदिइने उहाँले दाबी गर्नुभयो । 

"भुटानी शरणार्थी र अन्य काण्डमा जोडिएका ठूला नेता र कर्मचारीहरु भ्रष्टाचारमा फस्ने डरले रातारात शेरबहादुर देउवा र केपी ओली मिलेर सरकार गठन गरेकोले आफू सरकारबाट हट्दा पनि जति आत्मवबल लिएर जनतामा रहेका छौं । एमाले काँग्रेस सरकारमा गए पनि उत्साहित छैन । १८ महिना सरकारको नेतृत्व गर्दा सुशासन र समृद्धिको लागि काम गरेकै कारण सरकारबाट हट्नुपरयो । अब अर्काको वैशाखीमा होइन, आफनै बलमा सरकार बनाउन माओवादी अघि बढिसकको छ । हरेक नेता कार्यकर्ताले मिसन २०८४ मा माओवादीको बहुमतको सरकार बनाउने गरी काम गर्नु बाहेकको अर्को विकल्प छैन", अध्यक्ष प्रचण्डले जोड दिनुभयो ।

एमाले र काँग्रेस दुबैसँग गठबन्धन गरेर आफूले प्राप्त गरेको अनुभवले आउने चुनावमा कुनै दलसँग गठबन्धन नगरी आफ्नो उम्मेदबार उठाउने पाठ सिकेको अध्यक्ष प्रचण्डले भन्दै पार्टी कसरी बन्छ र सरकार कसरी चलाउनुपर्छ यो दुबै तौरतरिकाका ज्ञान र कला माओवादीले बुझिसकेको  उहाँले प्रष्टयाउनुभयो । 

मङ्गलबार बिहानै गोलबजार नगरपालिकाका सैनिक चोकका स्थानीयहरुसँग भेटघाट गरेर मिर्चैयामा नेता कार्यकर्तासँग भेटघाट गरी बर्दिवासतर्फ लाग्ने बेलामा अर्कोपटक आउँदा गाउँगाउँ गएर सङ्गठनमा उर्जा भर्ने विश्वास दिलाउनुभयो । 

प्रचण्डसँग उपाध्यक्ष तथा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ, छोरी गङ्गा दाहाल रहेको टोलीलाई मिर्चैया नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैयामा भव्य स्वागत गरी पार्टी बनाउन पार्टीमा रहेर पार्टीकै नीति विपरीत हिंड्नेहरुलाई कारबाही गर्न माग गर्नुभएको थियो ।