रमेशबहादुर रावत
अछाम, भदौ २५ गते । पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमाले पूर्व उपाध्यक्ष डा. भीम रावलले आफू समाजवादी पार्टीमा जाने कुरा हल्ला मात्र भएको बताउनुभएको छ । गृह जिल्ला अछाम पुग्नुभएका रावलले प्रेस चौतारी अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा आफूलाई समाजवादी पार्टी प्रवेशका लागी छलफलमा रहेको भन्ने हल्ला निराधार भएको बताउनुभएको हो ।
उहाँले आफूसँग पार्टी प्रवेशका विषयमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कुरा गरेको भन्ने हल्ला मात्र भएको बताउनुभयो । आफू नेकपा एमालेमै सक्रिय रहेको उहाँको दाबी छ ।
रावलले आफूलाई कारबाही गरेर देखाउन चुनौती दिनुभएको छ । देश, जनता र पार्टीले लिएको नीतिको पक्षमा आफू दृढतापूर्वक खडा भएको केही मानिसहरूलाई बिझाइरहेको भन्दै नेता रावलले त्यस्ता पात्र र प्रवृत्तिलाई चुनौती दिन आफू सक्षम रहेको दाबी गर्नुभयो ।
देश र जनताको पक्षमा लाग्दा आउन सक्ने व्यवधानका विषयमा आफू जानकार रहेकाले आफ्नो अडानमा अविचलित रहेको र त्यसै अनुसार चल्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टी विचारशून्य अवस्थामा पुगेको भन्दै नेता रावलले आफू पार्टीको विधि, विधान र सिद्धान्तको पक्षमा बोल्दै आएकाे बताउनुभयो ।
पार्टीबाट कारवाहीको तयारी भइरहेको छ भन्ने सुनिन्छ नि भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो, "पार्टीको सिद्धान्त जोगाउनुपर्छ, विधि विधान अनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण आफूलाई कारबाही गरिन्छ भने त्यो गरेर देखाउन ठाडो चुनौती दिन्छु ।" उहाँले पार्टीले आफूमाथि जस्तो कदम चाल्यो त्यही अनुसारको कदम चाल्न आफू तयार रहेको बताउनुभयो ।
गेटा मेडिकल कलेजमा एमबिबिएस अध्यापनका लागि अनुमति नदिएर सुदूरपश्चिममाथि विभेदपूर्ण व्यवहार गरिएको भन्दै प्रतिनिन्दा गर्नुभयो । उहाँले गेटामा एमबिबिएस अध्यापनको अनुमतिका लागि जनता आन्दोलनमा उत्रिए आफू आन्दोलनको नेतृत्व गर्न तयार रहेको बताउनुभयो ।