• ८ मंसिर २०८१, शनिबार

माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक बर्दिबासमा सुरु

blog

महोत्तरीको बर्दिबासमा सुरु भएको नेकपा (माओवादी केन्द्र) मधेश प्रदेशको परामर्श बैठक । तस्बिर : अध्यक्ष प्रचण्डको सचिवालय

महोत्तरी, भदौ २५ गते । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेशको परामर्श बैठक महोत्तरीको बर्दिबासमा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै मधेश प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको छ ।

बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको बताउनुभएको छ । उहाँले रुपान्तरण सम्भव भएको र यसको विकल्प नभएको बताउनुभयो । ‘‘माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छन्, संविधानमाथि हमला हुन्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘परिवर्तनलाई जोगाउन पनि हामी सुदृढ एकतासहित अघि बढ्नुको विकल्प छैन ।’’ उहाँले अब सम्पूर्णरुपमा पार्टी पुनःगठन र जनपरिचालनका कार्यक्रमसहित अघि बढ्ने बताउनुभयो ।

बैठकमा सहभागीहरुका धारणा सुनेपछि अन्तिममा केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ ।

माओवादी केन्द्रले बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १ तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ । आज र भोलि अब मधेश प्रदेशको बैठक सम्पन्न भएपछि केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक सकेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ ।