• २६ पुस २०८१, शुक्रबार

खानेपानी आएपछि स्थानीय खुसी

blog

वालिङ समाचारदाता

वालिङ, भदौ २५ गते । स्याङ्जाको पुतलीबजार नगरपालिका–१३, हिरापाटाका नागरिक घरमै खानेपानी आएपछि हर्षित भएका छन् । लामो समयको प्रतीक्षापछि घर घरमा खानेपानी आइपुगेको भन्दै स्थानीय खुसी भएका हुन् । स्थानीय हिराबहादुर रोकाले अब एक घण्टा लगाएर पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको भन्दै स्थानीय सरकारको अनुभूति गर्न पाएको बताउनुभयो । 

‘एक घर एक धारा’ अभियान अन्तर्गत लिफ्टिङमार्फत घर घरमा खानेपानी पुगेको हो । हिरापाटामा १५० घरपरिवार रहेका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरिप्रसाद तिमिल्सिनाले झन्डै आठ सय जनसङ्ख्या लाभान्वित भएको बताउनुभयो । आर्थिक वर्ष २०७४/७५ बाट निर्माण सुरु भएको भए पनि विभिन्न कारणले ढिलो गरी योजना सम्पन्न भएको तिमिल्सिनाले बताउनुभयो । 

खानेपानी तथा सरसफाई आयोजनाको आइतबार शुभारम्भ गर्नुहुँदै सङ्घीय सांसद राजु थापाले खानेपानीको खोजीमा नागरिकलाई भौतारिनु नपर्ने अवस्थामा पु¥याउन आफू सक्रिय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले पनि खानेपानीलाई प्राथमिकता दिएर बजेट व्यवस्था गर्दै आएको छ, नागरिक सक्रिय भएमा समयमा नै यस्ता योजना सम्पन्न हुन्छन् ।” स्याङ्जाका नागरिक अझै पनि खानेपानी खोज्न हिँड्नुपर्ने बाध्यता रहेको भन्दै सांसद थापाले अब त्यस्ता दिन अन्त्य हुँदै जाने बताउनु भयो । उपभोक्तालाई आफ्नो योजना सम्झेर यसको संरक्षण र मर्मतमा ध्यान दिन सांसद थापाको आग्रह छ । 

दरौखोलामा बनाइएको इनारमार्फत लिफ्टिङ गरी २५० मिटर माथि रहेको हिरापाटामा खानेपानी पु¥याइएको हो । गुणस्तरसहितको आयोजना भएकाले शुद्धीकरणसहित उपभोक्ताको घरमा खानेपानी पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय 

स्याङ्जाका प्रमुख तिमिल्सिनाले बताउनुभयो । सङ्घीय सरकारको तीन करोड ५४ लाख र उपभोक्ताको ४१ लाख बराबरको जनश्रमदान गरी तीन करोड ९५ लाख रुपियाँको लागतमा आयोजना सम्पन्न भएको तिमिल्सिनाले जानकारी दिनुभयो । पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले नागरिकलाई सहज रूपमा खानेपानी उपलव्ध होस् भनेर दीर्घकालीन योजनासहित काम गरिरहेको बताउनुभयो । 

साना प्रकृतिका खानेपानी समस्या समाधानमा नगरपालिका आफैँले काम गर्ने भन्दै प्रमुख रेग्मीले ठुला आयोजनाका लागि प्रदेश र सङ्घीय सरकारमार्फत सहयोग लिएर काम गरिरहेको जानकारी गराउनुभयो । नागरिकलाई खानेपानीको अभाव हुन नदिन आफू सव्रिmय रहेको उहाँको भनाइ छ ।