• २६ पुस २०८१, शुक्रबार

महाकाली कोरिडोरको अठहत्तर प्रतिशत ट्र्याक खुल्यो

blog

महाकाली कोरिडोरको निर्माणाधीन सडकखण्ड ।

बैतडी समाचारदाता

बैतडी, भदौ २५ गते ।   सुदूरपश्चिम प्रदेशको विकासमा कोसेढुङ्गा मानिएको महाकाली कोरिडोरको ७८ प्रतिशत ट्र्याक खुलेको छ । कोरिडोरको करिब ५१ प्रतिशत हिस्सा बैतडीले ओगटेको छ । दक्षिण कञ्चनपुरको ब्रह्मदेवदेखि बैतडीको झुलाघाट हुँदै उत्तरको दार्चुला–टिङ्कर जोड्ने महाकाली कोरिडोर चीन र भारतको सीमा जोड्ने व्यापारिक महत्वको सडक हो ।   

कोरिडोरको ४१३ किलोमिटर सडकमध्ये ३३४ किलोमिटर सडक सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले निर्माण गर्दै छ भने दार्चुलाको तुसारपानीदेखि टिङ्करसम्मको ७९ किलोमिटर चट्टानी भागमा नेपाली सेनाले निर्माणको जिम्मा पाएको छ । नेपाली सेनाले जिम्मा पाएको ७९ किलोमिटर कडा चट्टानमध्ये १३ किलोमिटर निर्माण गरिसकेको छ भने सडक विभागले जिम्मा पाएको ३३४ मध्ये २६१ किलोमिटर गरी २७३ किलोमिटर सडकको ट्र्याक खुलेको छ । 

योजनाका अनुसार चालु आव २०८१/८२ मा थप २० किलोमिटर ट्र्याक खोल्ने लक्ष्य छ । सडक विभागले जिम्मा पाएकोमध्ये जोगबुडा, डडेलधुराको भागेश्वर र बैतडीको पञ्चेश्वरस्थित रोडीदेवलको भिर र दशरथचन्द नगरपालिकाको कन्सनीगाडमा कोरिडोरको बाँकी काम सक्न टेन्डर भइसकेको छ । केही स्थानमा कडा चट्टान भएकाले विस्फोटक पदार्थका लागि विभागमा फाइल बुझाइसकिएको छ । 

विसं २०६६ देखि दार्चुला–टिङ्कर सडकका नामबाट सुरु भएको योजना २०७७ मा कञ्चनपुरको ब्रह्मदेव जोडिएपछि यो सडकको नामकरण महाकाली कोरिडोर भएको हो । सडकको ट्र्याक खोल्न गत वर्ष ४४ करोड ६५ लाख रुपियाँ  छुट्याइएको थियो । चालु आवमा ४१ करोड ५० लाख रुपियाँ बजेटमध्ये विगतको दायित्व भुक्तानीमा १६ करोड खर्च हुने योजनाका इन्जिनियर लक्ष्मण जोशीले जानकारी दिनुभयो । 

कोरिडोरको ट्र्याक खोल्ने कामसँगै कालोपत्रेको काम पनि अघि बढेको बताइएको छ । कालोपत्रेका लागि दार्चुला, कञ्चनपुर र जोगबुडा गरी तीन वटा प्याकेजमा छुट्टाछुट्टै टेन्डर गरिएको छ । कालोपत्रेका लागि करिब एक अर्ब २० करोड रुपियाँ रहेको छ । ट्र्याक खुलेको २७३ किलोमिटरमध्ये हालसम्म ४७ किलोमिटर कालोपत्रे गरिको छ भने एउटा पुल निर्माण गरिएको छ । कोरिडोरमा कुल ३५ वटा पुल निर्माण हुने छन् । तीमध्ये कञ्चनपुरमा पाँच वटा, डडेलधुरामा १० वटा, बैतडीमा १० वटा र दार्चुलामा नौ वटा पुल छन् । कोरिडोर सम्पन्न गर्न १३ अर्ब ४९ करोड ८७ लाख रुपियाँ लाग्ने अनुमान छ । 

विस्फोटक पदार्थका कारण ढिलाइ 

कोरिडोरमा पर्ने रुख कटानका लागि सरकारले अनुमति दिइसके पनि डिभिजन वन कार्यालयबाट छपान र कटान आदेशमा ढिलासुस्ती हुने गरेको बताइएको छ । योसँगै कडा चट्टान भएका क्षेत्रमा विस्फोटक पदार्थ अभाव हुँदा काममा ढिलाइ भएको छ । 

कोरिडोर अन्तर्गत कञ्चनपुर क्षेत्रको ११ किलोमिटर खण्डमा एक हजार ९५१ रुख छन् । त्यसै गरी डडेलधुरामा १० हजार ४७६, बैतडीमा चार हजार ५९६ र दार्चुलामा दुई हजार ४२ रुख कटान गर्नुपर्ने महाकाली कोरिडोर योजना कार्यालयले जनाएको छ । कुल १६१ किलोमिटर खण्डमा पर्ने रुखमध्ये १०१ किलोमिटरमा पर्ने ६३ प्रतिशत रुख कटान भइसकेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशका चार जिल्ला कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सीमामा रहेको पिल्लर नम्बर १ सम्म  निर्माण हुने यस सडक योजनाबाट व्यापार मात्रै नभई कैलाश मानसरोवर भ्रमणका लागि छोटो बाटो हुने छ । त्रिदेशीय नाका भएका कारण व्यापारिक महत्व धेरै रहेको र धार्मिक हिसाबले योजनाको प्रतिफलका रूपमा सुदूरपश्चिमका चार जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय साथै शैक्षिक विकासमा टेवा पुग्ने पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । 

कोरिडोरले दक्षिणमा कञ्चनपुरको ब्रह्मदेवदेखि महाकाली किनार हुँदै डडेलधुराको परशुराम नगरपालिका, भागेश्वर गाउँपालिका, बैतडीको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र दार्चुलाको लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका, दुहुँ गाउँपालिका हुँदै व्यास गाउँपालिकाको टिङ्कर नाकासम्म पुग्ने छ । यो कोरिडोर यातायातको सहज पहुँच विस्तार गरी सुदूरपश्चिम प्रदेश तथा समग्र राष्ट्रको विकासमा कोसेढुङ्गा साबित हुने चरणमा रहेको छ ।