दिवाकर पोख्रेल
देउखुरी, भदौ २४ गते। लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ।
प्रदेश मन्त्रिपरिषद्को सोमबार सम्पन्न बैठकले ऐन संशोधनको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो।
विभिन्न दफा र उपदफाहरूमा संशोधन गर्नुपर्ने आवश्यकता देखिएपछि सरकारले ऐन संशोधनको प्रस्ताव अघि बढाएको हो। २०८० असार २२ गते प्रदेश सभामा दर्ता भएको विधेयक भदौ २२ गते सभाबाट पारित भएको थियो।
प्रदेश प्रमुखले विधेयकलाई मङ्सिर २१ गते प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आएको थियो। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार प्रदेश सभामा ऐन संशोधनको विधेयकको प्रस्ताव दर्ता हुनेछ। आगामी प्रदेश सभा बैठकमा ऐन संशोधन प्रस्ताव पेस हुनेछ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                