• ११ असोज २०८१, शुक्रबार

वायु प्रदूषण नेपालको जटिल समस्या बन्दै : वनमन्त्री ठकुरी

blog

राजधानीमा उद्घाटन भएको स्वच्छ हावा राष्ट्रिय सम्मेलनमा सहभागीहरू ।

काठमाडौँ, भदौ २४ गते । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषण नेपालमा जटिल समस्या भइसकेको हुँदा वायु प्रदूषण नियन्त्रणका लागि सरकार सजग रहेको बताउनुभएको छ ।

स्वच्छ हावा राष्ट्रिय सम्मेलनको आइतबार राजधानीमा उद्घाटन गर्नुहुँदै मन्त्री ठकुरीले संविधानले स्वच्छ हावा पाउनु पर्ने अधिकारलाई ग्यारेन्टी गरेकाले यस कुरामा सरकार चिन्तित र गम्भीर भएको बताउनुभयो ।

उहाँले आगामी दिनमा वन तथा वातावरण मन्त्रालय र मन्त्रालयका मातहतका निकायले खरिद गर्ने सवारी साधनहरू वातावरण मैत्री हुने र तत्कालै त्यसको निर्णय मन्त्रालयले गर्ने जानकारी पनि दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘वातावरण जस्तो संवेदनशील विषयमा सरकार एक्लैले मात्र केही गर्न नसक्ने भएकाले सरोकारवाला सबै निकाय यस कुरामा सजग र चनाखो हुन आवश्यक छ । सबै सरोकारवाला निकायलाई वायु प्रदूषण नियन्त्रणका लागि सरकार आह्वान पनि गर्छ ।’’

उहाँले वायु प्रदूषण नेपालको मात्र समस्या नभएकाले बढ्दो सङ्कटलाई दृष्टिगत गरी अन्तर्राष्ट्रिय मञ्चमा समेत यस विषयमा कुरा उठाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरलाई आगामी वर्षदेखि धुलो, माटो नउड्ने सहरका रूपमा विकास गर्न लागिएको र त्यसका लागि काम सुरु गरिसकिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘ललितपुर महानगर हरित महानगर भइसकेको छ । अब आउने वर्षदेखि धुलो, माटोरहित सडक भएको सहर विकास गर्ने योजनामा हामी लागि रहेका छौँ, सबैका साथ र सहयोग आवश्यक छ ।’’

अन्तर्राष्ट्रिय स्वच्छ हावा दिवसका अवसरमा नेपालमा आयोजित सो कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनो गुटरेसले सो सम्मेलनको शुभकामना सन्देश दिँदै वायु प्रदूषण जनस्वास्थ्य र आर्थिक विकासका लागि निकै घातक हुँदै गएको बताउनुभयो । उहाँले सन्देशमा यसको नियन्त्रण र रोकथामका लागि सरकार र निजी क्षेत्रले साझा कार्यक्रम बनाएर काम गर्न पनि आह्वान गर्नुभयो । महासचिव गुट रेसले वायु प्रदूषण विश्व समुदायका लागि समस्या मात्र नभई सङ्कट भइसकेको बताउनुभयो ।

कार्यक्रममा अमेरिकी सहयोग नियोग स्वच्छ हावाका नेपाल तर्फका चिफ अफ पार्टी भूषण तुलाधरले नेपालमा प्रतिवर्ष ५० हजार व्यक्ति प्रदूषित वायुबाट उत्पन्न भएका रोगका कारण मृत्यु हुने आँकडा प्रस्तुत गर्नुभयो । उहाँका अनुसार ९० प्रतिशत नेपालीले प्रदूषित वायु उपभोग गरिरहेका र प्रति पाँच जनामा एक जना व्यक्तिको वायु प्रदूषणका कारण उत्पन्न हुने रोगले मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनको अध्ययनले देखाएको छ ।

सम्मेलनमा वायु प्रदूषणको अवस्था, त्यसले पारेको असर लगायतका विभिन्न अध्ययनको प्रतिवेदनहरू माथि छलफल हुने भएको छ ।