भाइबहिनीहरू, आज हामी यात्रा गर्ने पैसाको कुरा गर्छौं । यात्रा भनेको एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल गर्नु हो । हामीले बाबुआमा, काकाकाकी, दाजुदिदी कसैले बैङ्कमा गएर अथवा नजिकै एउटा कुनै वित्तीय संस्थामा गएर रकम झिकेर ल्याएको देखेको हुनु पर्छ । हामीहरूका आफन्त वा चिने जानेका वा छिमेकी कोही विदेश जानुभएको हुन सक्छ । उहाँले पठाउनुभएको तलब बैङ्कमा जम्मा हुन्छ । अनि यताबाट आफन्तले चाहिए जति झिक्न पाउनुहुन्छ ।
अचेल हरेक चार घरमध्ये तीन घरका मानिस कोही न कोही विदेश गएका हुन्छन् । विदेशमा गएर विभिन्न खालको काममा उहाँहरू संलग्न हुनुहुन्छ । काम गर्नका लागि मात्रै नभएर अध्ययन गर्नका लागि पनि विदेश जाने क्रम बढेर गएको छ । पढ्नका लागि विदेश जानुभएकाहरूले पनि त्यहाँ काम गर्नुहुन्छ । पढाइ र बस्ने खर्चका लागि गर्नुभएको आम्दानी केही जोगिएमा घरमा पनि पठाउनुहुन्छ ।
विदेशमा कमाइ गरिराख्नुभएकाले कमाएको रकम आफूसँग मात्र राख्नुहुन्न । आफ्नो घरपरिवारको खर्च धान्न, ऋण तिर्न, छोराछोरीलाई पढाउन रकम पठाउनुहुन्छ । त्यो रकम विभिन्न माध्यमबाट हाम्रो घरका सदस्यले पाउने गरी पठाइएको हुन्छ । त्यो रकमलाई विप्रेषण अथवा अङ्ग्रेजीमा रेमिट्यान्स भनिन्छ । विप्रेषण भनेको बुझ्न कठिन हुन्छ तर रेमिट्यान्स भनेको प्रायः हामीले सुनेका हुन्छौँ । अङ्ग्रेजी शब्द नै बढी चलनचल्तीमा छ ।
रेमिट्यान्स भनेको विदेशमा काम गर्ने मानिसले आफ्नो देशमा परिवारलाई पठाउने रकम हो । रेमिट्यान्स विदेशबाट मात्र आउँदैन । कोही अभिभावक घरभन्दा बाहिरको सहरमा गएर जागिर खानु हुन्छ वा व्यापार, व्यवसाय अथवा केही पेसा गर्नुहुन्छ र उहाँले घरखर्च चलाउन रकम पठाउनुहुन्छ भने त्यो पनि रेमिट्यान्स नै हो । यसलाई आन्तरिक रेमिट्यान्स भनिन्छ ।
धेरै परिवारको जीवन धान्ने माध्यम वा आधार रेमिट्यान्स बनेको छ । रेमिट्यान्सबाट प्राप्त रकमले खानेकुरा किन्न, विद्यालयका लागि शुल्क तिर्न, लत्ताकपडा किन्न, बिमारी हुँदा अस्पतालमा खर्च गर्नदेखि आफ्नै व्यापार–व्यवसाय सुरु गर्न सकिन्छ । बितेको २८ वर्षमा नेपालका धेरै गरिब परिवारले रेमिट्यान्सबाट गरिबी कम गर्न सक्नुभएको छ ।
रेमिट्यान्सले घरपरिवारलाई मात्र सहयोग गर्दैन, यसले देशको अर्थतन्त्रमा पनि ठुलो भूमिका निर्वाह गर्छ । आफ्नो आवश्यकता पूरा गर्न विभिन्न वस्तु किन्ने गरिन्छ । त्यो किन्दा अर्थतन्त्रमा सहयोग पुग्छ । मानिसले वस्तु किन्दा उद्योग चल्छ, पसल चल्छ, रकम लेनदेन हुन्छ । आर्थिक कारोबार हुन्छ । त्यसरी अर्थतन्त्रमा सहयोग पुग्छ ।
रेमिट्यान्स पठाउने एउटा निश्चित चरण हुन्छन् । अभिभावक वा आफन्तले आफू काम गर्नेे देशमा आफू नजिकै रहेको रकम पठाउने एजेन्ट (जसलाई रेमिट्यान्स कम्पनी भनिन्छ) लाई रकम दिन्छन् । एजेन्टले हामीहरूको परिवारलाई रकम पठाउन नेपालमा उसँग साझेदारी भएको बैङ्क वा अर्को रेमिट्यान्स कम्पनी एजेन्टलाई सन्देश पठाउँछ । त्यो सन्देश कोड नम्बरमा दिइन्छ । पहिला पहिला यस्तो कोड नम्बर वा सन्देश फ्याक्स वा टेलेक्स गरेर पठाइन्थ्यो । अचेल इन्टरनेटको प्रविधिबाट पठाइन्छ । उताबाट रकम जम्मा गर्नासाथ नेपालको बैङ्क अथवा रेमिट्यान्स कम्पनीले तुरुन्तै भुक्तानी गरिदिन्छ । यसरी रकम पठाइ दिएबापत रेमिट्यान्स कम्पनी अथवा बैङ्ंकले केही रकम लिन्छन्, त्यसलाई कमिसन भनिन्छ ।
एजेन्ट वा बैङ्कबाहेक अनौपचारिक माध्यमबाट पनि रकम पठाउने गरिन्छ । यसलाई हुन्डी भनिन्छ । यो गैरकानुनी तरिका हो । यसरी रकम पठाउँदा जोखिम पनि हुनसक्छ । अर्को उपाय भनेको साथीभाइको हातबाट पठाउने माध्यम पनि हो ।