• २६ पुस २०८१, शुक्रबार

निःशुल्क वितरण हुने औषधी अभाव

blog

बेनी अस्पतालमा निःशुल्क औषधी वितरण कक्ष ।

ठाकुरप्रसाद आचार्य

म्याग्दी (बेनी), भदौ २४ गते । म्याग्दीको बेनी अस्पतालमा निःशुल्क रूपमा वितरण हुने औषधी अभाव भएको छ । अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधी वितरण कक्षमा २५ देखि ३० प्रकारका औषधी मात्र उपलब्ध छन् । जिल्ला अस्पतालबाट ९६ प्रकारका औषधी निःशुल्क वितरण गर्ने सरकारको नीति भए पनि धेरै औषधी उपलब्ध छैनन् । निःशुल्क वितरण हुने औषधी अभाव हुँदा बिरामीलाई समस्या भएको छ । 

गण्डकी प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले निःशुल्क वितरण गर्ने औषधी अस्पतालमा नपठाएकाले अभाव भएको अस्पताल प्रमुख डाक्टर अन्जु थापाले बताउनुभयो । “सरकारले निःशुल्क वितरण गर्ने भनेका औषधी हामीले टेन्डर गरेर खरिद गर्न पाइँदैन । प्रदेश सरकारले पनि औषधी समयमा पठाउँदैन,” उहाँले भन्नुभयो । 

सरकारले ९६ प्रकारका औषधी निःशुल्क वितरण गर्ने भने पनि अस्पतालमा २५ देखि ३० प्रकारका औषधी मात्र उपलब्ध हुने गरेको उहाँले बताउनुभयो । बिमाबाट पाइने केही औषधी भदौ १ देखि सरकारले निःशुल्क वितरणमा राखे पनि अस्पतालमा नपठाएकाले दीर्घरोगका बिरामी धेरै प्रभावित भएको उहाँले बताउनुभयो । 

“दीर्घरोगका बिरामीले सेवन गर्ने केही औषधी बिमाबाट लग्ने गरेका थिए । उक्त औषधी भदौ १ देखि निःशुल्क वितरण गर्ने भनेर निःशुल्क पाउने सूचीमा समावेश गरिएको छ,” अस्पताल प्रमुख डाक्टर थापाले भन्नुभयो, “निःशुल्क वितरण गर्ने औषधी बिमाको सेवाबाट पनि नपाउने, अस्पतालको औषधी वितरण कक्षमा पनि नहुनाले बिरामी समस्या परेका छन् ।” निःशुल्क औषधी पठाए पनि दुई/तीन महिना मात्र म्याद भएको पठाउने गरेको उहाँले बताउनुभयो । 

औषधी पठाउन प्रदेश सरकारसँग माग गरे पनि सुनुवाइ नभएको बेनी अस्पतालको औषधी स्टोर प्रमुखसमेत रहनुभएकी नर्सिङ अफिसर एवं सूचना अधिकारी खेमकुमारी पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “निःशुल्क वितरण गर्ने औषधी अस्पताल आफैँले खरिद गर्न मिल्दैन । हामीले प्रदेश सरकारसँग माग गर्ने हो । चालु आर्थिक वर्षको सुरवातमै औषधी माग गरेका हौँ तर अहिलेसम्म आएको छैन ।” माग गरे अनुसार औषधी पनि नआउने भएकाले औषधीको सधैँ जसो अभाव हुने उहाँको भनाइ छ । 

सरकारले निःशुल्क पठाउने औषधी मात्र होइन, अस्पतालले आवश्यकता अनुसार खरिद गर्ने औषधी पनि सप्लायर्सले नदिँदा समय समयमा अस्पतालमा औषधीको अभाव हुने उहाँको भनाइ छ । बेनी अस्पतालले निःशुल्क औषधी उपलब्ध नहुँदा नियमित औषधी सेवन गर्नुपर्ने मानसिक, मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोगलगायतका नसर्ने रोगका बिरामी बढी प्रभावित भएका छन् । 

सिटामोल, जीवनजललगायत पाँच/दस वटा आधारभूत औषधीबाहेक बेनी अस्पतालमा बाँकी औषधी कुनै न कुनै समय मौज्दात सकिएको हुन्छ । उच्च रक्तचाप र कोलेस्ट्रोलका बिरामीले नियमित खाने औषधी दुई महिनायता अस्पतालमा नआएको अस्पतालको फार्मेसी तथा सामाजिक सेवा एकाइका कर्मचारी बनिका पुनले बताउनुभयो ।  

अस्पतालका अनुसार मधुमेहका बिरामीलाई दिइने विभिन्न औषधीमध्ये पाँच सय एमजीको मेटफरमिनबाहेक अर्को औषधी छैन । मेटफरमिन पनि छ महिनाको अन्तरमा आउँछ । त्यस्तै उच्च रक्तचाप र कोलेस्ट्रोलका बिरामीले नियमित खानुपर्ने एट्रोभास्टिनको सबै मात्रा पछिल्लो नौ महिनादेखि अस्पतालमा अभाव छ ।