• २७ पुस २०८१, शनिबार

बढी दुर्घटना हुने स्थानमा ट्रमा सेन्टर बनाउन छलफल

blog

काठमाडौँ, भदौ २४ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना बढी हुने ठाउँमा ट्रमा सेन्टर निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय अवधारणा अनुसार सम्बन्धित मन्त्रालयबिच छलफल भइरहेको जानकारी दिनुभएको छ । 

सडक दुर्घटनामा तत्काल उद्धार नभएकै कारण यात्रुले अनाहकमा ज्यान गुमाइरहेको बताउँदै उहाँले यसका लागि दुर्घटनाग्रस्त क्षेत्रमा ट्रमा सेन्टर आवश्यक रहेको जिकिर गर्नुभयो । उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर रहेको बताउनुभयो ।

गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी, सडक विभाग, सडक बोर्ड, यातायात व्यवस्था विभागलगायत सम्बद्ध विभिन्न निकायका अधिकारीको सहभागितामा आइतबार मन्त्रालयमा आयोजित सडक सुरक्षासम्बन्धी छलफलमा मन्त्री दाहालले त्यस्तो बताउनुभएको हो ।

दसैँ, तिहारलगायतका चाडपर्वमा हुन सक्ने सडक दुर्घटना न्यूनीकरणका लागि मन्त्रालयले अग्रसरता लिई काम गरिरहेको जानकारी गराउँदै मन्त्री दाहालले चाडपर्व सुरु हुनुअघि सडकका खाल्टाखुल्टी पुरिसक्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले दुर्घटनामा परेकाको छिटोभन्दा छिटो उद्धार तथा अस्पतालसम्म पु¥याउने व्यवस्थाका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहनसमेत आग्रह गर्नुभयो । चाडपर्वमा काठमाडौँबाट बाहिरिनेको अत्यधिक चाप हुने र उक्त समयमा दुर्घटनाको जोखिम पनि उच्च हुने भएकाले त्यसको न्यूनीकरणका लागि मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै उहाँले दुर्घटनाको सम्भावना रहेको स्थानमा सडक सुरक्षाका पूर्वाधार निर्माण र मर्मत गर्न निर्देशन दिनुभयो । 

सुरक्षित सडक, चुस्त सवारीसाधन, दक्ष चालक र सचेत यात्रु भएमा मात्र सडक सुरक्षा कायम गर्न सकिने स्पष्ट पार्दै उहाँले यसका लागि तिनै तहका सरकार र सम्बद्ध निकायबिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

अहिलेसम्म ‘रोड सेफ्टी काउन्सिल’ गठन आदेशबाट मात्रै चलेको बताउँदै उहाँले ‘फास्ट ट्र्याक’ बाट यससँग सम्बन्धित ऐन कानुन बनाउन काम गरिरहेको जानकारी दिनुभयो । उहाँले सडक सुरक्षा परिषद्लाई क्रियाशील र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

मन्त्रालयका सचिव केशवकुमार शर्माले चाडपर्व नजिक आइरहेकाले अब सवारीसाधन र यात्रुको सङ्ख्या बढ्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने बताउँदै लामो दुरीका सवारीसाधनमा अनिवार्य दुई जना चालक राख्ने गरी नियमन गर्न सम्बन्धित निकायलाई सुझाउनुभयो । सडक सुरक्षाविज्ञ डा. पार्थमणि पराजुली, सरोजकुमार प्रधानलगायतले सडक सुरक्षा परिषद्लाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभएको थियो ।