• २७ पुस २०८१, शनिबार

कर्णालीपारिको स्याउ बजारतर्फ लगिँदै

blog

बाजुरा समाचारदाता

बाजुरा, भदौ २३ गते । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने कर्णालीपारि उत्पादन हुने अर्गानिक स्याउ बिक्रीका लागि धमाधम विभिन्न सहरमा लैजान थालिएको छ । बाटो अवरुद्ध भएका कारण केही दिन बारीमै रोकिएको स्वामीकार्तिक खापर गाउँपालिकाको अर्गानिक स्याउ अहिले कर्णाली कोरिडोर सञ्चालनमा आएसँगै बिक्रीका लागि देशका विभिन्न सहर बजारमा लग्न थालिएको हो । स्वामीकार्तिकको जेवाले, सैडेओ खुनका, लोकी र जोरुलगायतका विभिन्न ठाउँमा किसानले उत्पादन गरिएको स्याउ लैजान ठेकेदार बारीमै पुग्न थालेका छन् । यहाँका स्याउ कर्णाली कोरिडोर हुँदै कैलाली, बाँकेको नेपालगन्ज, काठमाडौँलगायतका विभिन्न बजारमा बिक्रीका लागि लगिएको स्याउ किसानले बताए ।

कोल्टी–मार्तडी सडक सञ्चालन होला भनेर बारीमै राखिएको अर्गानिक स्याउ समयमै सो सडक नचलेपछि ठेकेदारले कर्णाली कोरिडोर हुँदै विभिन्न सहरमा लैजाने गरेको वडा नम्बर १ जोरुका स्याउ किसान धनबहादुर रावलले बताउनुभयो । गत वर्ष बाजुरामा उत्पादन गरिएको स्याउ अछाम, डोटी, डडेलधुरा, कैलाली हुँदै काठमाडौँमा बिक्रीका लागि लगिएको थियो । यो वर्ष मार्तडी–कोल्टी सडक लामो समयदेखि अवरुद्ध बन्दै गएकोले त्यो स्याउ कर्णाली कोरिडोरबाट कैलाली, बाँकेको नेपालगन्ज र काठमाडौँ लगिएको छ । यो वर्षमा स्वामीकार्तिक खापर गाउँपालिकामा झन्डै एक करोड रुपियाँभन्दा बढीको स्याउ उत्पादन भएको स्वामीकार्तिक खापर गाउँपालिकाको कृषि विकास शाखाले जनाएको छ । यहाँ स्थानीय, डेलिसिएस, रोयल, रेडडेलिसियस, गोल्डेन, गाला, फुजीलगायतको स्याउ उत्पादन हुने गरेको कृषि शाखा प्रमुख विनोद शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाजुराको सबैभदा बढी स्याउ उत्पादन हुने भएको यही पालिका नै हो । पछिल्लो समयमा यहाँका जेवाले, सैडेओ खुनका, लोकी र जोरुलगायतका विभिन्न ठाउँमा स्याउ राम्रो उत्पादन हुन्छ ।” केही दिन पहिला दुई ट्रक स्याउ कैलालीको लम्की बजारमा पुगेको थियो । अझै तीस ट्रक स्याउ अन्यत्र लगेर बिक्री गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । बाजुराको हिमाली, जगनाथ, बुढीनन्दा, गौमूल र खप्तड छेडेदहलगायतका स्थानीय तहमा पछिल्लो समयमा स्याउ उत्पादन हुन्छ । सबैभन्दा बढी स्वामीकार्तिक खापर गाउँपालिकामा स्याउ उत्पादन हुन्छ । 

यहाँ स्याउ उत्पादनका लागि राम्रो उपयुक्त बाटो भएकाले यहाँका अधिकांश किसानलाई थप स्याउ खेतीमा लाग्न उत्प्रेरित गर्दै आएको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा उत्पादन गरिएको स्याउ ट्याक्टरमार्फत पिलुचौरसम्म ढुवानी भएको छ । त्यहाँदेखि ट्रकमार्फत सुर्खेत, नेपालगन्ज, धनगढीलगायतका सहरमा स्याउ निर्यात भइरहेको छ ।” हालसम्म स्वामीकार्तिक खापर गाउँपालिकाबाट झन्डै १४ ट्रक स्याउ निर्यात गरिएको छ ।