• २७ पुस २०८१, शनिबार

अभियानले ब्रान्डिङ हुँदै मही

blog

कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारी ठेकीमा मोही पार्नुहुँदै ।

काठमाडौँ, भदौ २३ गते । नेपाली डेरी एसोसिएसनले सुरु गरेको मही खुवाउने अभियानले एक वर्ष पूरा गरेको छ । गत साउनबाट सुरु भएको यो अभियान प्रत्येक हप्ताको शनिबार सञ्चालन हुन्छ ।

नेपाल डेरी एसोसिएसन र रैथाने एग्री प्रडक्ट्स नेपाल प्रालिबिच सम्झौता भएर काठमाडौँको दरबारमार्गमा आयोजना हुने रैथाने कृषि उपज बिक्रीवितरण हुने हाटबजारमा प्रत्येक शनिबार एसोसिएसनले निःशुल्क मही खुवाउने गरेको छ । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले त्यही बजारमा प्रत्यक्ष ठेकीमा मही बनाएर त्यहाँ आउने ग्राहक तथा अवलोकनकर्तालाई निःशुल्क खुवाउँदै आएको बताउनुभयो । 

यसरी मही अभियान सञ्चालन गरेको एक वर्ष पूरा भएको छ । सो अवधिमा २५ हजार लिटर मही खपत भएको छ । एक लाख ७५ हजार जनाले सो मही सेवन गरेको अध्यक्ष दाहालले जानकारी दिनुभयो । यो अभियान सञ्चालन गरेपछि देशमा महीको ब्रान्डिङ हुन थालेको बताउँदै उहाँले विवाह, व्रतबन्धका भोजभतेरमा पनि महीको उपयोग बढेको बताउनुभयो । 

अहिले दैनिक देशैभरि दुई लाख ५० हजार लिटर मही खपत हुने गरेको अध्यक्ष दाहालले बताउनुभयो । यो अभियान सञ्चालन गरेपछि दुध तथा दहीको बिक्री पनि बढेको उहाँले जानकारी दिनुभयो । यो अभियानमा पूर्वराष्ट्रपति डा. रामवरण यादवदेखि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीलगायत विभिन्न मन्त्री, प्रदेशका मन्त्री र सांसदहरू सहभागी भइसक्नुभएको छ । 

विभिन्न विद्यालयले पनि त्यसमा सहभागिता जनाइसकेका छन् । त्यो मही खुवाउने मात्र होइन, बालबालिकालाई मही कसरी बनाउने पनि सिकाउने गरिएको अध्यक्ष दाहालले बताउनुभयो । शनिबार दरबारमार्गको रैथाने हाटबजारमा पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले यो अभियानले व्यापारी तथा किसानलाई मात्र होइन, उपभोक्तालाई समेत प्रत्यक्ष फाइदा पुगेको बताउनुभयो । चिसो पेय पदार्थभन्दा मही स्वास्थ्यका लागि निकै लाभदायक रहेकाले यो अभियान देशैभर सञ्चालन हुनुपर्ने उहाँले बताउनुभयो । 

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले रैथान संरक्षण लाग्न सबैलाई आग्रह गर्नुभयो । “रैथाने संरक्षण आवश्यक छ, यसमा सबै लाग्नु पर्छ र मेरातर्फबाट पनि साथ रहन्छ,” उहाँले भन्नुभयो, “यो अभियान जसले सञ्चालन गर्नुभयो, उहाँ धन्यवादको पात्र हुनुहुन्छ ।”