पाठकले पनि वा लेखकले पनि यहाँ सर्वप्रथम बुझ्नुपर्ने कुरा के छ भने लघुकथा भनेको पृथक् विधा होइन । यो आख्यानकै एक उपविधा हो, जुन सूक्ष्म ढङ्गमा सिर्जना हुने गर्छ । यसैले लघुकथा लेख्नेलाई लघुकथाकार भनेर अनर्थबोध हुने विशेषण दिनु उचित होइन । यो आख्यानकै एक लघुविधा भएकाले यसका सर्जकलाई कथाकार नै भन्नु उचित हुन्छ ।
अब आउनुहोस्, एक परिश्रमी सम्पादक/साहित्यकार विमल भौकाजीले बडो मेहनतका साथ तयार पारेका लघुकथाहरूको सङ्कलन ‘छचल्का’ लाई एकफेर पठन गरेपछि अनुभूत भएको प्रतिक्रियालाई व्यक्त गरौँ । पहिला त सम्पूर्ण लघुकथा पढेपछि यस सङ्कलनलाई ‘छचल्का’ किन भनियो भनेर सोच्न सकिन्छ, त्यसपछि पनि यस सङ्कलनमा अटाएका ९९ कथाकारलाई हेरेर नेपाली लघुकथा साहित्य के यति मात्र लघुकथाका सर्जक छन् वा यस सङ्कलनमा यति मात्र लघुकथाका सर्जक किन समावेश भए भनेर उठ्न सक्ने प्रश्नसँग अझ ती कथाकारमा पुरुष कथाकार ८५ र महिला कथाकारमा जम्मा १४ मात्र किन भनेर पनि प्रश्न गर्न सकिने अवस्था छ, तर कुनै पनि ग्रन्थको सङ्कलन कार्यमा सम्पादकको सम्पूर्ण जिम्मेवारी र उत्तरदायित्व हुने हुनाले सङ्ख्या र छनोटको सर्वाधिकार पनि सम्पादकमै निहित हुने गर्छ । यसैले यो सङ्कलनको पठनपछि उठ्न सक्ने यस्ता प्रश्नलाई लम्ब्याउन पर्दै पर्दैन भनेर मान्दा किन पनि उचित हुने छ भने सङ्कलनका लघुकथाहरू कस्ता छन् वा कस्तो हुनुपर्ने हो, यसबारे बरु ध्यान दिनु राम्रो हो ।
नेपाली लघुकथाको संसारमा छिर्दा एउटा कुरा चाहिँ जे जति भने पनि, जति उपमा–उपमेय दिएर विशेषण थुपारे पनि लघुकथाको गुण भनेको सङ्क्षेपमा चोटिलो ढङ्गले सूक्ष्म रूपमा कथालाई प्रस्तुत गर्नु नै हो । यसैले यसमा शब्द बङ्ग्याएर, छोट्याएर, तलमाथि सारेर प्रयोगपरक हुँ भनेर अरूभन्दा पृथक बनेको भनेर सोच्नु चाहिँ सोरै आना निरर्थक हुने छ । जसरी लेखे पनि यसको आयाम भनेको सङ्क्षेपमा प्रस्तुत हुनु नै हो । कथाको झिनो प्रकरणलाई बीज रूपमा राखी यसले भन्न लागेको कुरा अन्त्य झ्वाट्ट प्रकट गरेर पाठकीय मनलाई स्तब्ध पार्नु यसको मूलभूत गुण हो । यसै विशेषतालाई मनन गरी लघुकथाका सर्जकले लघुकथा सिर्जना गर्छन् भने सिर्जना गर्दा कथाकारले वाक्यगठन, विम्ब प्रकटीकरण आदि गुणलाई आआफ्ना प्रस्तुति शैलीमा चित्रण गरेका हुन्छन् । अनि लघुकथाले विषयवस्तुलाई चित्रण गर्दा आफ्नो समकालीन विषयवस्तुलाई नै साधारणीकरण गरेको छ । चरित्र चित्रणभन्दा पनि कथ्य वस्तुलाई चोटिलो पाराले अभिव्यक्त गर्नु यसको विशेषता भएकाले विगतका लघुकथा होस् वा अहिलेका, सबै लघुकथाको एकै ढङ्गमा, एकै रूपमा सिर्जना भएको पाइन्छ । यसमा कथाकारको सिर्जन–कलामा भन्दा पनि बढी कथ्य वस्तुलाई प्रकट गर्नुमा विशेष खुबी रहेको देखिन्छ र हुनुपर्ने पनि त्यही हो ।
उपर्युक्त सामान्य र सङ्क्षेप छलफललाई मनन गरेपछि आऊँ प्रस्तुत लघुकथा सङ्कलन ‘छचल्का’ तिर । नेपाली लघुकथा क्षेत्रमा थुप्रै लघुकथा प्रकाशित छन् । ती सबैबाट छचल्किएर यति लघुकथा सम्पादकका दृष्टिमा पर्न सफल भएकाले नै सम्भवतः सम्पादकले सिङ्गो सङ्कलनलाई ‘छचल्का’ भनेर शीर्षकीकरण गरेर प्रस्तुत गरेका हुन् । यो कथन सही हो भने सम्पादकको सम्पादन कार्यलाई पनि सही नै मान्नु पर्छ । यसमा विवाद वा बहस गर्नुपर्ने आवश्यक छैन किनभने यो ग्रन्थलाई तयार गर्दाको मेहनत र ग्रन्थको सज्जा/सजावटमा सम्पादकको खुबी प्रस्ट रूपमा प्रशंसायोग्य छ भनेर मान्न सकिन्छ ।
यस सङ्कलनका लघुकथाहरूमा पाइने मूल विशेषता भनेको देशकाल–परिस्थितिको चित्रण नै हो । अझ यसलाई यसरी पनि भन्न सकिन्छ– यसभित्रका लघुकथाले आफ्नो समयको वस्तुस्थितिलाई प्रखर रूपमा चित्रण गरेका छन् । केही लघुकथा प्रयोगवादी हुने मोहमा दुर्घटितको सँघारमा पुगेका र केही लघुकथाचाहिँ चोटिलो देखाउने मोहमा अति सरलताको सिकारले चोटिलो होइन, झन्नै झन्नै चुट्किलाको रूप ओढेको बोध हुन्छ । यति भएर पनि यी लघुकथाले हाम्रो समयको विद्रूपता, विसङ्गतिलाई राम्ररी चित्रण गर्न तम्सेको भन्ने भान हुन्छ । लघुकथाको गुण विषयलाई उठान गरी उपदेश दिनमा होइन, वस्तुस्थितिलाई निष्कर्षमा एक झमटले भन्न लागेको मूल चुरो कुरालाई प्रस्तुत गर्नमा हुन्छ । यो गुण चाहिँ यस सङ्कलनका सम्पूर्ण लघुकथामा पाइन्छ ।
यस सङ्कलनका लघुकथाहरूको विषयलाई ध्यान दिने हो भने सङ्क्षेपमा यसरी विशेषित गर्न सकिन्छ, जस्तै– यी सम्पूर्ण लघुकथाका विषयको मूल भाव सामाजिक, सांस्कृतिक, राजनीतिक, धार्मिक, आर्थिक, यौनिक आदि हुन् । साहित्यको शक्ति भनेकै राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, यौनिक हुन् । त्यस अनुरूप यस सङ्कलनमा रहेका लघुकथाहरू पनि यिनै साहित्य–शक्तिबाट सिर्जित देखिन्छन् । लघुकथाको स्वरूप वा ढाँचा भनेको सङ्क्षेपमा गहन कुरालाई आरम्भबाट उठान गरी निष्कर्षमा कथावस्तुको मूल कथ्य कुरालाई एक प्रहारमा व्यक्त गर्नु हो । यिनै भावमा यस सङ्कलनका सम्पूर्ण लघुकथा सिर्जना भएका छन् र यी लघुकथाहरू कथाकारको निजात्मक शैलीबाट अभिव्यक्त भएकाले लघुकथाको ढाँचा एकै देखिए पनि भन्ने वा कथ्य शैली भने पृथक छ । यस सङ्कलनका लघुकथाहरूको विशेषता भनेकै यही हो । सबै कथाकारले आफ्ना रचनालाई आफ्नो शैलीबाट प्रस्तुत गरेकाले लघुकथाहरू पठनीय छन् । जसरी लघुकथाको विशेषता भनेको तात्कालिक परिणामको निष्पत्तिमा बढी आधारित देखिन्छ, त्यसरी नै यसको पठनबोध पनि तत्काल क्षणकै प्रभावमा निसृत रहन्छ । यसैले लघुकथा स्मरणीयभन्दा पनि बढी पठनीय नै बनेको हुन्छ । यसै अनुसार यस सङ्कलनका लघुकथाहरू पनि निर्मित भएका छन् भनेर मान्दा मलाई लाग्छ, कुनै अतिशयोक्ति हुने छैन ।
माथिका सङ्क्षेप आकलन वा यसका मर्मलाई सादृश्य बनाउनका लागि यस सङ्कलनका सम्पादक भौकाजीका यिनै कथनबाट हामी पठनका साथ अनुमान लगाउन सक्छौँ, जस्तै–
‘प्रस्तुत लघुकथा सङ्ग्रहमा ९९ लघुकथाकारका सिर्जना समेटिएका छन् । आकारका हिसाबले कुनै साना र कुनै अलिक लामा लघुकथा छन् । अक्षर गनिएका छैनन् तर पाठकले यी सबै रचनाका मर्मलाई समान गणना गर्नुहुने छ भन्नेमा आमी (हामी ?) आशावादी छौँ । विश्वास छ, हामीलाई कि हाम्रो यो पुस्तक–निर्माण पाठकको सन्तुष्टिको द्योतक बन्ने छ ।’ अन्त्यमा यस सङ्कलनका सम्पूर्ण कथाकारलाई लघुकथा सिर्जनामा आफ्नो कलम अझ धारिलो र तिखो रूपमा कुँद्न सकून् भनेर कामना गर्नुका साथै यसका परिश्रमी सम्पादकलाई आफ्नो सम्पादनकर्मको सम्पूर्ण जससहित बधाई ज्ञापन गरेमा अन्यथा ठहर्दैन ।