• २७ पुस २०८१, शनिबार

सडक मानवमुक्त बनाउने अभियानमा मेरिङ्देन

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २० गते। ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले सडक मानवमुक्त क्षेत्र बनाउने अभियान सुरु गरेको छ। गाउँपालिकाले ‘होप फर अल’ नामक संस्थासँग मिलेर अभियानको सुरुवात गरेको हो। 

अभियानको प्रारम्भमा गाउँपालिकाको वडा ३ खाम्लुङको दोभान बजारमा विगत ५–६ वर्षदेखि रहेका दुईजना सडक मानवलाई उद्धार गरिएको छ। 

गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर) का अनुसार घर बासविहीन भई सडक पेटीमा बेबारिसे अवस्थामा रहँदै आएका एक महिला र एक पुरुषलाई उद्धार गरिएको छ। 

सडक मानवका रुपमा रहेका उद्धार गरिएका महिला र पुरुष दुवैजना भारतीय मूलका भएको गाउँपालिका अध्यक्ष हाङ्गामले जानकारी दिनुभयो। उहाँका अनुसार उद्धार गरिएकी महिलालाई सुनसरीको इटहरीस्थित माया घर र पुरुषलाई झापास्थित आफ्नो घर नेपाल आश्रममा पठाइएको छ। 

मानसिक सन्तुलन गुमाएका दुवै जनाको जीवन रक्षाका लागि उद्धार गरिएको र उहाँहरूलाई माया घर र आश्रममार्फत मनोसामाजिक परामर्श सेवासमेत प्रदान हुने गाउँपालिका अध्यक्ष हाङ्गामले बताउनुभयो। होप फर अलले यसअघि पनि ताप्लेजुङका विभिन्न स्थानबाट सडक रहेका बेवारिसे मानवको उद्धार तथा लागूऔषध दुर्व्यसन र कुलतविरुद्ध जनचेतना अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गरिरहेको छ। 

बेवारिसे अवस्था रहँदै आएको सडक मानवको उद्धारपछि माया घर र आश्रममा पठाउने तयारी गरिँदै।