काठमाडौँ, भदौ २० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबिच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ ।
बिहीबार चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले मन्त्री पाण्डेलाई भेटेर पोखरा र भैरहवामा उडान भर्न आफूहरू उत्साहित रहेको बताएका हुन् । ४० वटाभन्दा बढी मुलुकमा सेवा दिँदै आएको चीनको एक नम्बर एयरलाइन्सको रूपमा रहेको चाइना साउदर्न एयरलाइन्सले नेपालमा समेत आफ्नो सेवा उत्कृष्ट रहेको दाबी गरेको छ ।
चीनको गौन्जाउबाट हाल काठमाडौँमा नियमित रूपमा उडान भर्दै आएको उक्त एयरलाइन्सले पोखरा र भैरहवा उडानका लागि मन्त्री पाण्डेले नीतिगत रूपमा गर्नुभएको सुधारको प्रशंसा गरेको थियो ।
चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने कुराको स्वागत गर्दै मन्त्री पाण्डेले भन्नुभयो, तपाईँहरू पर्यटकीय राजधानी पोखरा र भगवान् गौतम बुद्धको जन्मस्थल भैरहवा उडान भर्ने कुरामा स्वागत गर्न चाहन्छु ।
यसले द्विपक्षीय हित आपसी सम्बन्ध विस्तारमा समेत फाइदा पुग्ने छ । तपाईँहरूको नियमित उडानले नेपाल र चीन दुवै मुलुकलाई फाइदा पुग्ने छ । मन्त्री पाण्डेले नेपाल एयरलाइन्सले चाइना साउथ एयरलाइन्सबाट हवाई सुरक्षाबारे लाभ लिने समेत प्रष्ट पार्नुभयो ।
साथै मन्त्री पाण्डेले हवाई उडानका क्रममा नेपाली पक्षबाट केही कमजोरी भएको भए पनि सो बारेमा आफूलाई जानकारी गराउन अनुरोध गर्नुभएको थियो । त्यसैगरी द्विपक्षीय हित र आपसी सम्बन्ध थप सुदृढ पार्न हवाई क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्ने समेत बताउनुभएको छ ।