• २७ पुस २०८१, शनिबार

भकारी भर्न डुङ्गाकै भर

blog

लहान समाचारदाता

लहान, भदौ २० गते  । चार दशकअघिदेखि सिराहा र धनुषाको सिमाना रहेको कमला नदीमा डुङ्गा खियाउँदाखियाउँदै रामप्रकाश माझीका पाखुरा बलिया भए । त्यसैबाट उहाँका घरमा धानको भकारी भरिन्छ । परिवारको गुजारा चल्दै आएको छ ।  

धनुषाका कमलामाई नगरपालिका–५, लकडका ५७ वर्षीय रामप्रकाश बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म कमलामाई र सिराहा नगरपालिकाका स्थानीयलाई कमला नदी वारपार गराउँदै आउनुभएको छ । 

उहाँ भन्नुहुन्छ, “चार वटा डुङ्गा सारश्वर घाटमा (नदी किनार) चलिरहेका छन् । चारै वटा डुङ्गामा धनुषाका जनकपुर वरिपरिका गाउँदेखि कमला किनारसम्मका देउरी प्रवाहा, वैदेही गोबराही, सघार मरान, सखुवा हथमुण्डा, मरान सुखुवालगायतका गाउँले र सिराहातर्फका चतरी बनिनिया, अर्नमा, छरापटी, करहरवा बेल्हा, गम्हरिया सारश्वर, सिराहा नगरपालिकाका गाउँलेलाई असारदेखि असोजसम्म कमला नदी वारपार गराउन डुङ्गा खियाउने गरिरहेको छु ।” 

डुङ्गाबाट नदी वारपार गराउँदा स्थानीय किसानबाट भने धान नै ज्यालास्वरूप लिनुहुन्छ । त्यसरी डुङ्गाको शुल्कस्वरूप लिएको धान करिब १५ क्विन्टल हुन्छ । उहाँको भकारीमा त्यही धान भरिन्छ । अन्य बाहिरका व्यक्तिसँग भने रकम लिने गरेको बताउनुुहुन्छ । उहाँ डुङ्गामा 

साइकल, मोटरसाइकल राखेर कमला वारपार गराउँदा साधन हेरी २० रुपियाँदेखि एक सय रुपियाँसम्म लिने गर्नुहुन्छ । 

कमाइभन्दा सेवामा समर्पित भएकाले सिराहा धनुषाका स्थानीयबाट पाएको माया ममताले डुङ्गा खियाउन जोस प्राप्त भइरहेको उहाँको भनाइ छ । 

हुलाकीमार्गमा पुल निर्माण भएपछि डुङ्गामा कमला नदी वारपार गर्नेहरूको चाप कम होला भन्ने चिन्ता उहाँलाई लागेको थियो । माझीले भन्नुभयो, “तर कमला नदीमा निर्माण भएको पुल सञ्चालनमा नआउँदै भासिएपछि दर्जनौँ गाउँका स्थानीयका लागि सारश्वर घाटमा चल्ने चार वटा डुङ्गा नै सहारा बन्दै आएको छ ।” उहाँ भन्नुहुन्छ, “संसारमा यति धेरै विकास भइसक्यो तर हाम्रो जीवनमा कुनै परिवर्तन आएको छैन । चार दशकदेखि कमला नदीमा पौँठेजोर गरिरहनु परेको छ ।”

धनुषाका स्वर्गीय नेता हेमबहादुर मल्लले काठ उपलब्ध गराइदिएपछि एक पटक सरकारबाट सहयोग भएको उहाँलाई सम्झना छ । उहाँ सरकारले आधुनिक खालको डुङ्गा उपलब्ध गराइदिए जीवन केही सहज हुन्थ्यो कि भन्ने कल्पनासम्म गर्नुहुन्छ तर त्यो कुनै दिन साकार होला भन्ने विश्वास पनि उहाँमा छैन । उहाँ भन्नुहुन्छ, “सात पुस्तादेखिका पुर्खाले जे जसरी गरे म पनि त्यसरी नै गर्दै आएको छु ।”

उहाँ भन्नुहुन्छ, “सखुवा काठको एउटा डुङ्गा बनाएपछि सात वर्ष चल्छ, जामुन काठको बनाउँदा पाँच वर्ष चल्ने गरेको छ । डुङ्गा बनाउन मिस्त्री भारतबाट बोलाउनु पर्छ । महिनौँ लगाएर तयार हुने एउटा डुङ्गा बनाउन दुई लाख रुपियाँ खर्च हुन्छ ।” 

पूर्वपश्चिम राष्ट्रिय राजमार्गमा रहेको पुल सिराहाका नगरपालिका र वारिपारिका स्थानीयलाई आउजाउ गर्न १० किलोमिटरभन्दा टाढा उत्तर पर्ने र हुलाकी सडकमा निर्माण भएको पुल सञ्चालनमा नआउँदै भासिएपछि सो क्षेत्रका वासीलाई सिराहा–धनुषा वारपार गर्न सारश्वर घाटमा डुङ्गा चढ्नुको विकल्प नरहेको सिराहा नगरपालिकाका स्थानीय बताउँछन् ।