• ७ मंसिर २०८१, शुक्रबार

भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण

blog

प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो जेठ २ गते नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । सन् २०१९ मा भारतका प्रधानमन्त्रीका रूपमा दोस्रो पटक निर्वाचित भएपछि हुन लागेको उहाँको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो । जेठ २ गते बुद्धपूर्णिमा (बुद्ध जन्मजयन्ती) का अवसरमा मोदीले विश्व सम्पदा सूचीमा सूचीकृत बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने योजना छ । 

सो अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी मोदी दुवैजना लुम्बिनीमा हुने समारोहमा सहभागी हुनुहुनेछ । लुम्बिनीमा मायादेवी मन्दिरमा दुवै प्रधानमन्त्रीले दीप प्रज्वलन गर्ने कार्यक्रम छ । तथापि यस सम्बन्धमा परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयले औपचारिक घोषणा गर्न भने बाँकी छ । 

कोभिड–१९ महामारी मत्थर भएसँगै भारतका प्रधानमन्त्री मोदीले अन्तर्राष्ट्रिय भ्रमण सुरु गर्नुभएको छ । यतिबेला उहाँ युरोप भ्रमणमा हुनुहुन्छ । त्यहाँबाट फर्केलगत्तै नेपाल भ्रमणमा आउन लाग्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आफ्नो अघिल्लो कार्यकालमा उहाँ चार पटक नेपाल भ्रमणमा आउनुभएको थियो । जसअनुसार दुई पटक सन् २०१४ र दुई पटक सन् २०१८ मा नेपाल आउनुभएको थियो । सन् २०१४ को नेपाल भ्रमणताका नै लुम्बिनी भ्रमण गर्ने इच्छा जाहेरगर्नुभएको थियो ।

कोभिड, रुस र युक्रेनको युद्धले पेट्रोलियम पदार्थलगायतका केही वस्तुमा उच्च दरले मूल्यवृद्धि भएपछि त्यसको ठूलो असर नेपाली अर्थतन्त्रमा पनि देखिएको छ । जसले विगतमा चुपचाप बसेका नीति निर्मातालाई नराम्ररी झस्काएको छ । देशको अर्थतन्त्रको अवस्था राम्रो छैन, विदेशी सञ्चितिमा चाप छ । नेपाल राष्ट्र बैङ्कका अधिकारीले श्रीलङ्काको आर्थिक सङ्कटबाट पाठ नसिक्ने हो भने नेपालको अवस्था पनि श्रीलङ्काको जस्तै हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । श्रीलङ्काको जस्तै अवस्थामा त हाम्रो अर्थतन्त्रको अवस्था पुगिसकेको छैन तर अब गम्भीर नहुने हो भने त्यस्तो अवस्था नआउला भन्न सकिँदैन । 

नेपालले नकारात्मक आर्थिक सूचकको बीचमा आवश्यक परेमा वित्तपोषण सुरक्षित गर्न आईएमएफ र भारतको सहयोग खोजेको छ छैन ? ब्रिज फाइनान्सिङ र आईएमएफसँग आर्थिक समायोजन कार्यक्रम दुवै सुरक्षित गर्न नेपालले आवश्यकता महसुस गरेको छ छैन ? यो छलफलको विषय हुन सक्छ । 

नेपालको आर्थिक समस्याको तत्कालीन मानवीय लागतमा भारतले चिन्ता व्यक्त गर्नु उसको कर्तव्य हो । भारत यसका चुनौती पार गर्न नेपालको साथमा रहनुपर्छ । भारतले नेपाललाई अत्यावश्यक वस्तु र इन्धनका लागि ऋणका रूपमा र भुक्तानी सन्तुलन समर्थनका लागि केही सहयोग प्रदान गरी तत्काल नेपालको समस्या हल गर्न मद्दत हुन सक्छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०२२ को अप्रिल १ देखि ३ सम्म छिमेकी मुलुक भारतको भ्रमण गर्नुभयो । नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्ध भएकाले यो भ्रमणले दुई देशबीचको विशेष सम्बन्धलाई जोड दिएको छ । भ्रमणका क्रममा द्विपक्षीय सम्बन्धको अवस्थाको समीक्षासमेत गरियो, जुन अहिले उत्कृष्ट मानिन्छ । दुवै सरकार प्रमुखले अन्य क्षेत्रीय मुद्दामा पनि छलफल गरे । तेह्र बँुदासहितको संयुक्त प्रेस विज्ञप्ति भ्रमणको क्रममा जारी गरिएको थियो, जसमा भ्रमणका क्रममा छलफल भएका मुख्य विषयलाई प्रकाश पारिएको थियो । 

नेपाल र भारत अनादिकालदेखि नै घनिष्ठ र छिमेकी मित्र हुन् । नेपाल र भारत, आकार र जनसङ्ख्या, अर्थतन्त्र र प्रविधिमा ठूलो भिन्नता भए पनि, तिनीहरूको संस्कृति, परम्परा र दर्शनले एकताबद्ध छन् । बदलिएको परिप्रेक्ष्यमा नेपाल–भारत सम्बन्धलाई यसबाट हेर्नुपर्छ, परम्परागत सम्बन्धलाई कसरी प्रवद्र्धन गर्ने ? द्विपक्षीय आर्थिक सम्बन्धलाई कसरी सुदृढ गर्ने र कसरी समान स्तरमा व्यापारिक कारोबारलाई विकास गर्ने । भारत सधैँ हाम्रो प्रमुख व्यापार साझेदार भएको छ । तसर्थ, कुनै पनि व्यापार नीतिलाई सफल बनाउन भारतीय बजार र दुवै देशको पारस्परिक हितलाई ध्यान दिनुपर्छ । 

नेपालको भारतसँगको राजनीति वा भारतको नेपालसँगको आर्थिक कूटनीतिको सन्दर्भमा हेर्नुपर्छ, जहाँ दुवै देशको जित हुन्छ र कुनै पनि देश हार्दैन । दुई प्रधानमन्त्रीबीच सीमा विवादबारे छलफल भएको थियो । नेपालका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत सीमा समस्या समाधान गर्न आग्रह गर्नुभएको समेत प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ तर भारतीय पक्षको भनाइ केही उल्लेख गरिएको थिएन । 

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपालले अहिलेको आर्थिक अवस्थाबारे जानकारी दिने र दक्षिणी छिमेकीसँग सहयोग र सहकार्य खोज्न सक्षम हुनुपर्छ । यस सन्दर्भमा समस्याको पहिचान, समाधान र समाधानका संयन्त्रका लागि दुवै देशको निजी क्षेत्रको तहमा समिति गठन गर्नुपर्ने र त्यसले दिएको सुझाव दुवै देशलाई मान्य हुने हुँदा कार्यान्वयनको तहमा प्रभावकारी बन्नुपर्छ ।

दुवै देशले स्वामित्व लिने भएकाले समस्यालाई तत्काल समाधान गर्न तत्काल, मध्यम, र दीर्घकालीन रूपमा कार्यान्वयन गर्न सकिन्छ । पेट्रोल उत्पादनको भुक्तानी क्रेडिट अवधि लम्ब्याउनसमेत भारतले नेपाललाई मद्दत गर्न सक्छ । आवश्यक परेमा भारतबाट सफ्ट लोन पनि प्रयोग गर्न सकिन्छ । नेपालको मुद्रा भारतसँग जोडिएको हुनाले र केही निजी क्षेत्रले मुद्रा परिचालनको कुरा गरिरहेका छन्, त्यसलाई पनि राष्ट्रिय हित र जनभावनालाई ध्यानमा राखेर हेर्नुपर्ने हुन्छ ।

नेपालको भारतसँगको राजनीति वा भारतको नेपालसँगको राजनीतिलाई आर्थिक कूटनीतिको सन्दर्भमा हेर्नुपर्छ, जहाँ दुवै देशको जित हुन्छ र कुनै पनि देश हार्दैन । समग्रमा नेपालको वर्तमान आर्थिक स्थितिमा एक छिमेकी मुलुक भएको नाताले भारतले नेपालका लागि तत्काल राहत सहयोग र सहायताको भूमिका निर्वाह गर्न सक्छ । हालै सम्पन्न नेपालका प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा धेरै विषयमा छलफल र सहमति भएका छन् । नेपालको आर्थिक अवस्था सुधार्न आसन्न भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा केही सहयोग हुने अपेक्षा गर्न सकिन्छ । यसले दुवै देशबीचको सम्बन्ध अझै प्रगाढ बनाउनेछ । 

मोदीको लुम्बिनी भ्रमण नेपालका लागि झन् फलदायी हुने विश्वास गरिएको छ । लुम्बिनी विश्वकै बौद्धधर्मावलम्बीको आस्थाको केन्द्र हो कसैको सम्पत्ति होइन । त्यहाँ गएर जो कोहीले पनि पूजा गर्न सक्छ । जति धेरै मानिसले यसको पूजा गर्छन्, उति धेरै मानवतावादी हुन्छन् । लुम्बिनी बगैँचामा भगवान् बुद्धको जन्मको कथा असाधारण तथा सुन्दरसमेत छ । उत्तिकै उल्लेखनीय र स्मरणीय उहाँका शिक्षा छन् । उहाँका शिक्षा, सत्यको खोजी, जीवन र मृत्युको अर्थले बुद्धलाई ठूलो आध्यात्मिक प्रेरणा र शक्तिको स्रोत बनाएको छ । बुद्धले कुनै पनि जीवित प्राणीलाई मार्ने पापबाट बच्न आफूलाई सिकाउनुभयो । यो संसारमा कस्तो क्रान्तिकारी सन्देश हो जहाँ महानता भन्दा पैसाले शासन गर्छ र जहाँ ‘केही हुनु’ 

राम्रो मानिन्छ । 




Author

शङ्करमान सिंह