• २७ पुस २०८१, शनिबार

कर्णालीमा ललितकला बहस

blog

काठमाडौँ, भदौ २० गते । कर्णाली प्रदेशका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कर्णाली प्रदेशमा ललितकलाको गतिविधिलाई अघि बढाउन सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ । मन्त्री शाहीले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान कर्णाली प्रदेश समन्वय समितिको आयोजनामा ‘कर्णालीमा ललितकला’ छलफलमा सो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “प्रदेशका विभिन्न कला, संस्कृति, भाषा, साहित्य तथा ललितकला लोप हुँदै गएको अहिलेको परिवेशमा यसको संरक्षण र संवर्धन गर्न हामी सबै लाग्नु आवश्यक छ । यिनको अनुसन्धान गर्न सकेमा हाम्रो देशलाई ठुलो योगदान पुग्ने छ ।” प्रतिनिधि सभा सदस्य विनिता कठायतले कर्णालीलाई राज्यले हेर्ने दृष्टिकोण जे जस्तो रहे पनि ललितकला प्रज्ञा–प्रतिष्ठानको अग्रसरतामा भएको यो कार्यक्रम निकै मत्वपूर्ण भएको बताउनुभयो । प्रतिनिधि सभा सदस्य छिरिङ ल्हामु लामा (तामाङ) ले कर्णाली प्रदेशमा विकास भएका ललितकलालाई केन्द्र हुँदै विश्वस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले कर्णालीलाई समृद्धिको मार्गमा लैजान पनि ललितकलाको संरक्षण, प्रवर्धन, संवर्धन तथा विकासमा राज्यले विशेष ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कर्णाली र सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर प्रतिष्ठानले कार्यक्रम गरिरहेको बताउनुभयो । उहाँले ललितकलालाई केन्द्रमा राखी त्यस ठाउँको सभ्यता, संस्कृति, जनजीवनसँग जोड्दै प्रदेशस्तरमा समेत ललितकलाको संरचना तयार गर्नु आवश्यक रहेको बताउनुभयो । उपकुलपति लालकाजी लामाले कर्णाली प्रदेशमा रहेका रैथाने कला, ज्ञान, सिपलाई समाजसँग जोडेर लैजाने प्रयत्न गरेको र समाजलाई प्राज्ञिक हिसाबले अघि बढाउन ललितकला सधैँ तयार रहेको बताउनुभयो । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रतिष्ठानको साङ्गठनिक संरचना, कर्णाली प्रदेशमा ललितकला गतिविधि, ललितकला र पर्यटन जस्ता विषयमा जानकारी दिनुभएको थियो ।

प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख तथा कर्णाली प्रदेश समन्वय समिति संयोजक पाल्साङ्मो लामाले प्रदेशका परम्परादेखिका कला, संस्कृतिलाई खोज, अनुसन्धान गरी स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा ललितकलाको काम अघि बढाउन सकेमा कर्णालीका थुप्रै कुरा बाहिर आउने बताउनुभयो ।