• २७ पुस २०८१, शनिबार

मकै नफल्दा किसान निराश

blog

धादिङ थाक्रेका किसानको बारीको मकै ।

मुरारी अधिकारी 

धादिङ, भदौ १९ गते । कृषिप्रधान देशमा किसान सधैँ समस्यामा छन् । कहिले बाली लगाउने बेला रासायनिक मल हाहाकार हुन्छ, कहिले पानीको समस्या । अब झन् सरकारले नै वितरण गरेको बीउका कारण कृषक समस्यामा पर्न थालेका छन् । 

स्थानीय सरकारले वितरण गरेको बीउ रोपेको धादिङ थाँक्रेका किसान मकै न फलेकाले मर्कामा परेका छन् । धादिङको थाक्रे गाउँपालिकाको –६ नम्बर वडाका अधिकांश किसानको मुख्य बाली मकै हो । 

मकै लगाउने बेला वडा कार्यालयले ५० प्रतिशत अनुदानमा बीउ लिन आउनु भनेर सूचना जारी गरेपछि यहाँका झण्डै ३ सय ३५ घरधुरी वडाले बाँडेको सीपी ८०८ जातको मकैको बीउ ल्याएर रोपे । वडाले बाँडेको उन्नत जातको बीउ रोपेर धेरै मकै फलाउने अपेक्षा गरेका यहाँका किसान अहिले मकैको बोटमा घोगा नलाग्ने, लागिहाले घोगाभित्र दाना नहुने र भएको पनि कुहिएपछि निराश छन् । 

बिरुवा उम्रिएपछि राम्रोसँग हुर्किए पनि दाना लाग्नेबेला घोगा कुहिएर गन्हाउन थालेपछि रानीबारीका किसान चिन्तामा छन् । पोलेर खान मिल्ने भएदेखि हरियो घोगा बेचेर नगद कमाउने किसानले अहिले आफैँले समेत चाख्न नपाएको गुनासो गरेका छन् । 

बोटमा घोगा कुहिएर गन्हाएकाले अहिले किसान बारीमा जान समेत सक्ने अवस्था नरहेको हरि थापाले बताउनुभयो । थाक्रे गाउँपालिकामार्फत वडा कार्यालयले ५० प्रतिशत अनुदानमा मकैको बीउ उपलब्ध गराएको थियो । किसानले सोही बीउ बारीमा लगाएका थिए । 

“बिरुवा हुर्कँदासम्म राम्रै देखिन्थ्यो । जब बोटले सुत्ला च्याप्ने बेला भयो जुँगा चाहिँ सेतो निस्कियो” थापाले भन्नुभयो, “घोगामा दाना लाग्न थालेपछि बोटसहित घोगा कुहिन थाल्यो । केही दिनपछि बोटै सुक्न थाल्यो ।”

सरकारले अनुदानमा उपलब्ध गराएर रानीबारीका किसानले लगाएको मकै सिपी जातको हो । बारीमा ढोड र मकैको घोगा कुहिएर जान सक्ने अवस्था नरहेको थापाको भनाइ छ । हरेक किसानले ६ किलोग्राम मकैको बीउ लगाएका थिए । उक्त बीउ लगाएका सबै किसानको अवस्था दर्दनाक छ । 

सबै ठाउँमा मकै भित्र्याएर कोदो लगाउने बेला भयो । परम्परागत मकैको बीउ लगाउनेले अघिल्लो वर्षजस्तो फलाएको किसान गुरुदत्त गर्तौलाले भन्नुभयो । बिरुवा उम्रँदा बारीमा बोट राम्रै थियो । सुत्ला पनि राम्रै देखिन्थ्यो, मकैमा दाना लाग्न सुरु भएपछि धानचमारा सुक्न थाल्यो । केही दिनमा बोट र घोगा कुहिन थालेको बताउँदै गर्तौलाले ढोड र मकैको घोगा कुहिएर बारीमा पस्न सक्ने अवस्था नरहेको बताउनुभयो । सेतो जुँगा भएको मकैमा यो समस्या देखिएको गर्तौलाको भनाइ छ । “मेरो बारीमा १५ देखि १८ क्विन्टल मकै फल्थ्यो । यस वर्ष एक घोगा घरमा ल्याउन पाइएन” गर्तौलाले भन्नुभयो । 

मकै फलाउने आसमा रहेका किसानले मकै भित्र्याउन नपाएका रानीबारीका किसान कृष्णबहादुर थापाले गुनासो गर्नुभयो । गाउँपालिकामार्फत वडा कार्यालयले अनुदानमा उपलब्ध गराएको मकैमा समस्या देखिएको जानकारी वडा र गाउँपालिका कार्यालयलाई भएको वडा ६ का वडाध्यक्ष हिराबहादुर थापाले बताउनुभयो । 

“कृषि शाखामार्फत बीउ खरिद तथा वितरण गरेका थियौँ । अहिले समस्या आएपछि स्थलगत अवलोकन गरेर अनुसन्धान गरिरहेका छौँ । किसानको हितमा के गर्न सकिन्छ छलफल भइरहेको छ” थापाले भन्नुभयो ।