• २० असोज २०८१, आइतबार

भेरी नगरपालिका पहिलो बालमैत्री वडा घोषणा

blog

बालमैत्री वडा घोषणा समारोहमा सहभागिहरु । तस्बिर : सहदेब बस्नेत, गोरखापत्र ।

सहदेव बस्नेत

जाजरकोट, भदौ १९ गते । भेरी नगरपालिका–८ लाई बालमैत्री वडा घोषणा गरिएको छ । सबै सूचकहरू पुरा भएपछि विशेष सभाको आयोजना गरेर भेरी नगरपालिका–८ लाई बालमैत्री वडा घोषणा गरिएको हो ।

विशेष सभामा भेरी नगरपालिकाको ८ नम्बर वडालाई भेरी नगरपालिकाको पहिलो र जिल्लाको छैटौँ बालमैत्री वडा घोषणा गरिएको हो । भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीले बालमैत्री स्थानीय शासनका ५१ वटा सूचकहरूमा ९५ प्रतिशतभन्दा बढी प्रतिशत नम्बर हासिल गरेको हुनाले ८ नम्बर वडालाई नगरपालिकाको पहिलो बालमैत्री वडा घोषणा गरिएको बताउनुभयो ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले बालमैत्री वडा घोषणा भएको भेरी नगरपालिकाको ८ नम्बर वडाको दिगोपनका लागि सामाजिक सद्भाव र एकता कायम राखिराख्न अपिल गर्नुभएको थियो । 

वडा नं. ८ का वडा अध्यक्ष वीरबहादुर चन्दले चुनौतीका बिच गरिएको अथक प्रयासका बाबजुद नगरपालिकाकै पहिलो बालमैत्री वडा घोषणा गर्न सफल भएको भनाइ राख्नु भएको थियो  । डेढ वर्ष पहिलेदेखि थालिएको अभियानको प्रतिफल अनुरूप यतिबेला बालमैत्री वडा घोषणा भएको अध्यक्ष चन्दले बताउनुभयो ।