• २७ पुस २०८१, शनिबार

सबैभन्दा बढी सडकको गुनासो

blog

फाइल तस्बिर गोरखापत्र

तम्घास समाचारदाता 

तम्घास, भदौ १९ गते । गाउँपालिकाले सञ्चालनमा ल्याएको मोबाइल एप्समा आएका एक दर्जन गुनासोमा बाटो अवरुद्धसम्बन्धी गुनासो बढी छन् । यहाँको कालीगण्डकी गाउँपालिकाले नागरिकको गुनासो सुन्न सञ्चालनमा ल्याएको मोबाइल एप्समा सडक अवरुद्ध भएको र खुलाउन पहल गरिदिन आग्रह गर्ने गरिएको छ । प्रशासकीय अधिकृत नरेश गिरीले सडक अवरुद्धका साथै पहिरोले बस्ती जोखिममा रहेको गुनासो आएकाले तत्काल सम्बोधन गरी जानकारी गराइएको जानकारी दिनुभयो । 

वर्षायामको समय पनि भएकाले सडक अवरुद्ध र पहिरोसम्बन्धी गुनासो बढी आएको गिरीको भनाइ छ । पालिकाभित्रका नागरिकको गुनासो सुन्न र गुनासोका आधारमा पालिकाबाट हुने सेवा प्रवाहमा सुधार गर्न थप टेवा पुग्ने पालिकाले विश्वास लिएको छ । नागरिकको गुनासाका आधारमा पालिकाबाट हुने सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याइएको हो । सूचना प्रविधि अधिकृत ओमबहादुर थापाले नागरिकस्तरबाट आएको गुनासो, चासो र प्रश्नलाई उचित सम्बोधन गर्ने गरी व्यवस्था मिलाइएको बताउनुभयो । पहिलो पटक पालिकाभित्रका नागरिकको गुनासो सुनी त्यसको सम्बोधन गरिने र भविष्यमा पालिकाबाहिरका आमनागरिकले गुनासो राख्न सक्ने गरी व्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ  ।

गुनासो सुन्न तयार गरिएको मोबाइल एप्सलाई भरपुर प्रयोग गर्न पालिकाले नागरिकलाई आग्रहसमेत गरेको छ । गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले पालिकाभित्रका नागरिकको इच्छा र चाहनाविपरीत जान नसक्ने बताउनुभयो । पालिकाभित्रका नागरिकलाई आत्मनिर्भर बनाउन र स्वदेशमा नै स्वरोजगार बनाउनका लागि पालिकाले कार्य गर्ने उहाँको दाबी छ ।