• २७ पुस २०८१, शनिबार

खेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवा सक्रिय

blog

मौलिक संस्कृति संरक्षणका लागि छलफल गरिँदै । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, भदौ १९ गते ।
स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएका छन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको रुपमा रहेका खेली र रोइला संरक्षणका लागि युवाहरुले अभियान नै सुरु गरेका हुन् ।

कालीगण्डकी गाउँपालिका–७ मिर्मी फाँटका युवाहरुले अग्रजहरुको सहयोगमा ईतिहास बोकेको संस्कृति संरक्षणमा अभियान सुरु गरेको जनाएका छन् । कालीगण्डकी नदीको आसपास विशेष गरी स्याङ्जा र पाल्पा विभिन्न ठाउँहरुमा खेली र रोइला गीत निकै लोकप्रिय रहँदै आएको छ ।

स्थानीय मिर्मीरे युवा क्लबको सक्रियतामा पुराना संस्कृतिको संरक्षणका लागि पहल थालिएको हो । युवाहरुले पुरानो संकृतिको संरक्षणमा विशेष चासो देखाएका क्लवका अध्यक्ष शंकर न्यौपानेले बताउनुभयो । जसका लागि अग्रजहरुको उत्साहजनक सहयोग रहेको उहाँको भनाइ छ ।

आफूहरु सानो हुँदा सुनिने गरेको खेली र रोइला पछिल्लो पटक सुन्न छोडिएको भन्दै आफूहरुले सक्रियता देखाएको क्लवका सदस्य ज्ञानप्रसाद न्यौपानेले बताउनुभयो । युवापुस्ताले बेवास्ता गर्दा यस्ता संस्कृतिको अस्तित्व सङ्कटमा परेको छ ।

उहाँले भन्नुभयो, “आधुनिकताले गाउँबाट मान्छे हराए, मान्छेसँगै  गीत गाउने चलन हरायो, गीतमा आवश्यक पर्ने मौलिक बाजा हराए ।” नयाँ पुस्ताले आफ्ना मौलिक संस्कृतिको महसुस गर्न नपाएको उहाँको गुनासो छ ।

मौलिक संस्कृतिको संरक्षण गर्न र पुस्तान्तरण गर्न कार्यक्रम गर्न लागिएको क्लवका अध्यक्ष शंकर न्यौपानेको भनाइ छ । मौलिक संस्कृति जगेर्ना गर्ने खालको सामाजिक कार्यक्रमको आयोजना गर्न तीजलाई खेली र रोइलामय बनाउन लागिएको अध्यक्ष न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “रोईला र खेलीसँग सम्बन्धित कलाकारको सहभागितामा तीजलाई विशेष बनाउँदै छौं ।”

खेली र रोइला गीत संरक्षणका लागि क्लवले विशेष अभियानकै रुपमा विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।