• १७ भदौ २०८१, सोमबार

तिज गीत गाउन तिवारी आमालाई भ्याइनभ्याइ

blog

तानसेन समाचारदाता

तानसेन, भदौ १७ गते । तिज पर्व नजिकिएसँगै रामपुर–५ की लक्ष्मी तिवारी (तिवारी आमा) को व्यस्तता बढेको छ । ६५ वर्षीय तिवारी आमालाई तिज कार्यक्रममा पुगेर गीत गाउन भ्याइनभ्याइ छ । परम्परागत भाका र शैलीमा समसामयिक विषयवस्तु टिपेर तिज गीत गाउने खुबी भएकी तिवारी आमालाई विभिन्न समूहले बोलाउने गरेका छन् । अहिलेको राजनीतिक तथा सामाजिक अवस्थालाई टपक्कै टिपेर गीतमा उन्न सक्ने क्षमता तिवारी आमामा छ । उहाँलाई पाल्पा, रुपन्देही, गुल्मी, स्याङ्जा, नवलपरासीसम्मबाट तिज गीत गाउन निम्तो आउने गरेको छ ।

तिवारी आमाले भन्नुभयो, “मेरो गायनमा मौलिकपन देखेर होला सायद सबैले धेरैतिरबाट बोलाउने गरेका छन् । समयले भ्याएसम्म बोलाएको ठाउँमा पुग्ने पनि गरेको छु ।” उहाँले आठ/१० वटा तिज गीत ल्याइसक्नुभएको छ । तिज गीतका भिडियोमा अभिनयसमेत तिवारी आमाले गर्नुभएको छ । नेपाली कला, संस्कृति, मूल्यमान्यतालाई माया गर्ने दर्शक र श्रोता बढ्दै गएको उहाँको भनाइ छ ।