• १७ भदौ २०८१, सोमबार

‘रोजगार विभागको सेवा सातै प्रदेशमा’

blog

काठमाडौँ, भदौ १७ गते ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले वैदेशिक रोजगार विभागको सेवा सात वटै प्रदेशमा पु¥याउने तयारी भइरहेको बताउनुभएको छ । 

आइतबार पत्रकारसँग भएको अनौपचारिक भेटघाटका क्रममा मन्त्री भण्डारीले विभागबाट हाल उपलब्ध हुँदै आएका सम्पूर्ण सेवा न्यूनतम रूपमा प्रदेशस्तरबाट दिने गरी श्रम मन्त्रालयले तयारी गरिरहेको जानकारी दिनुभएको हो । 

मन्त्री भण्डारीले वैदेशिक रोजगारसम्बन्धी मागबारेमा स्थानीय तहबाट नै जानकारी पाउने वातावरण बनाउने गरी काम गरिरहेको बताउनुभयो । घरेलु श्रम गर्न जाने महिलालाई लाग्दै आएको बन्देजले समस्या निम्त्याइरहेको र त्यसलाई हटाउन आफूले प्रयास गरिरहेको उहाँको भनाइ छ । संसदीय समितिले दिएको सातबुँदे निर्देशनले अप्ठ्यारो पारिरहेको टिप्पणी गर्दै मन्त्री भण्डारीले बन्देज हटाउने विषयमा गृहमन्त्री र परराष्ट्रमन्त्री सकारात्मक रहेको बताउनुभयो । “यस विषयमा नागरिक समाजका तर्फबाट पनि थप पहल हुन जरुरी छ,” उहाँले भन्नुभयो । 

संसदीय समितिको निर्देशन अनुसार गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने पहल नेपाल सरकारले गरिरहेको जानकारी गराउँदै उहाँले श्रमिकको सम्मान नहुने मुलुकमा श्रमिक पठाउन नहुनेमा सरकार सचेत रहेको धारणा व्यक्त गर्नुभयो ।