• १६ भदौ २०८१, आइतबार

मुस्ताङको ठिनीमा फाला पर्वको रौनक

blog

ठिनीमा गाउँमा आयोजना गरिएको फाला पर्व । तस्बिर : गोरखापत्र

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, भदौ १६ गते । होमस्टे गाउँका रुपमा परिचित मुस्ताङको पर्यटकीय गाउँ ठिनीमा भाद्र (फाला) पर्वको रौनक छाएको छ । फाला थकाली समुदायको मौलिक सांस्कृतिक पर्व हो । 

शनिबार र आइतबार गरेर दुई दिनसम्म मनाउने यस पर्वले ठिनीमा पर्यटकको चहलपहल बढाएको छ । घरपझोङ गाउँपालिका ५ मा पर्ने ठिनी गाउँमा यसपाली भाद्र (फाला) पर्व थकालीहरुले धुमधामसँग मनाउन सुरु गरेका छन् । पर्वमा मौलिक संस्कृति झल्कने विभिन्न नाचहरु प्रदर्शन गरिएको स्थानीय जनमुक्ति युवा क्लब ठिनीका सचिव निरज थकालीले बताउनुभयो । 

फाला पर्वमा रमाउन पर्यटकहरु ठिनी गाउँमा पुगेका छन् । यस पर्वले खेतीको सिजन अन्त्य र जाडो मौसम सुरुवात भएको जनाउँछ । फाला पर्व ठिनी गाउँको मौलिक सांस्कृति पहिचान हो वडाध्यक्ष प्रदीप थकालीले भन्नुभयो, "फाला पर्व थकाली समुदायकाे पहिचान हो । मौलिक संस्कृतिको संरक्षणका लागि पाका र युवा पुस्ता जुटेका छन् ।" मौलिक संस्कृतिको संरक्षण गरेर ठिनी होमस्टेमा पर्यटक भित्र्याउने गरिएको उहाँको भनाइ छ । 

थकाली संस्कृति, सभ्यताको संरक्षण र पुस्तान्तरणका लागि ठिनीवासीहरुले परम्परागत मेला पर्वलाई निरन्तरता दिँदै आएको वडाध्यक्ष थकालीले बताउनुभयो । यहाँको मौलिक कला, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको वडाध्यक्ष थकालीको भनाइ छ ।  

पर्वमा परम्परागत याक नाच, झाँकी, लोपोन्मुख ढुङ्ग्री नाच, थकोर्चेन राजाको पालामा गरिने योद्धा नाच तथा सांस्कृतिक कार्यक्रमका साथै परम्परागत नाटक प्रस्तुत गरिने स्थानीय जनमुक्ति युवा क्लब ठिनीका सचिव थकालीले बताउनुभयो । 

“पर्वलाई निरन्तरता दिएर स्थानीय संस्कृतिको संरक्षण गर्न, परम्परालाई जीवित राख्न र नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहन्छौं,” थकालीले भन्नुभयो । फाला पर्वको रौनकमा रमाउन स्वदेशी तथा विदेशी पर्यटकहरु ठिनी पुगेकाले यहाँका होमस्टेहरु पर्यटकहरुले भरिएका छन् ।