• १६ भदौ २०८१, आइतबार

असुरक्षित बन्दै बालिका

blog

फाइल तस्बिर ।

अर्जुन काफ्ले 

स्याङ्जा, भदौ १५ गते । स्याङ्जा जिल्लामा पछिल्लो समय बालबालिका असुरक्षित बन्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको तथ्याङ्कमा एक वर्षमा दुई जना जबरजस्ती करणी र पाँच जना यौन दुर्व्यवहार भोगेका छन् ।  

आर्थिक वर्ष २०८०–८१ मा १४ वटा मुद्दा दर्ता भएकोमा ५० प्रतिशत मुद्दा बालबालिकामाथि भएका घटना रहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो । गत आर्थिक वर्षमा जबरजस्ती गर्ने एक जना थुनामा छन् । एक जना फरार छन् । 

यस्तै, बालयौन दुर्व्यवहार गर्नेमध्ये एक जना एक लाख धरौटीमा तारेखमा छुटेका छन् । एक जना एक लाख ५० हजार, एक जना ५५ हजार र दुई जना ५०–५० हजार रुपियाँ धरौटी बुझाउन नसक्दा थुनामा रहेका छन् । 

यहाँ आव २०७९–८० मा २६ वटा जबरजस्तीका घटनामध्ये दुईवटा मुद्दा परेका थिए । २०७८–७९ को एक वर्षको अवधिमा २१ वटा मुद्दामा तीनवटा बालयौन दुर्व्यवहार मुद्दा परेको थियो ।  

यौन दुर्व्यवहारको सिकार हुने बालबालिका छ वर्षसम्मका रहेको प्रहरीको भनाइ छ । यौन शिक्षाको कमी र नकारात्मक सोचको विकासले बलात्कारको घटना बढेका प्रहरी अनुसन्धानले देखाएको डिएसपी रानाले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले बालबालिका घटना बढेको छ ।