• १६ भदौ २०८१, आइतबार

छात्रा खेलाडीमा बढ्दै फुटबल मोह

blog

रमेश विश्वकर्मा

गुल्मी, भदौ १५ गते । गुल्मीमा छात्राहरूको फुटबल मोह बढ्दैगएको छ । तम्घासस्थित पुलचोक स्पोटर्स क्लबले विशेष गरी आफ्नो वार्षिकोत्सवको अवसरमा जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१० सम्म) को छात्रा फुटबल प्रतियोगिताको आयोजना गर्दैआएको छ । 

यस क्लबले स्थापनाकालदेखि नै छात्रा फुटबल प्रतियोगिताको आयोजना गर्ने गर्छ । वार्षिकोत्सवको अवसरमा आयोजित पुलचोक कप अन्तर्गतको छात्रा फुटबल प्रतियोगिताको पछिल्लो तीन वर्षको तथ्याङ्कलाई हेर्दा प्रत्येक वर्ष सहभागी समूहमा वृद्धि हुँदैआएको क्लबका उपाध्यक्ष प्रकाश मरासिनीले बताउनुभयो । 

तेस्रो पुलचोक कप– २०७९ को लागि भएको छात्रा फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न दश विद्यालयले सहभागिता जनाएका थिए । चौथो पुलचोक कप–२०८० मा ११ र अहिले चलिरहेको पाँचौँ पुलचोक कप –२०८१ का लागि यस विभिन्न १४ विद्यालय सहभागी भएको उहाँले बताउनुभयो ।

तम्घासस्थित चिदिचौर खेलमैदानमा छैटौँ वार्षिकोत्सवको अवसरमा पाँचौँ पुलचोक कप–२०८१ अन्तर्गतको छात्रा फुटबल प्रतियोगिता बुधबारदेखि जारी छ । खेलको अवलोकनका लागि जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, अभिभावक समेतको बाक्लो उपस्थिति रहेको छ । 

छात्रा खेलाडीको खेलप्रतिको लगाव रोचक देखिएको स्थानीयको भनाइ छ । बुधबारदेखि सुरु भएको छात्रा फुटबल प्रतियोगिताको पहिलो चरणको पहिलो खेल लिटिल स्टार इङ्गलिश बोर्डिङ्ग स्कुल र रेन्वो इङ्गलिश बोर्डिङ्ग स्कुलबिच भयो । निर्धारित समयमा कुनै पनि समूहले गोल गर्न नसक्दा पेनाल्टीमा लिटिल स्टार इङ्गलिश बोर्डिङ्ग स्कुल ५–४ गोलले क्वाटर फाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलको निर्धारित समयमा जसहयोग माध्यमिक विद्यालयले पालुखा माध्यमिक विद्यालयलाई ४–० गोलले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

बिहीबार पहिलो चरणकै तेस्रो खेलमा अर्जुन आवासीय माध्यमिक विद्यालयले आदर्श विद्या आश्रमलाई खेलको निर्धारित समयमा १–० गोलले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । चौथो खेलमा रेसुङ्गा माध्यमिक विद्यालयले उपल्लो तम्घास माध्यमिक विद्यालयलाई खेलको निर्धारित समयमा ३–० गोलले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । 

सिद्धबाबा माध्यमिक विद्यालय र गण्डकी इङ्गलिश बोर्डिङ स्कुलबिच भएको पहिलो चरणकै पाँचौँ खेलमा निर्धारित समयमा कुनै पनि समूहले गोल गर्न नसक्दा पेनाल्टीमा सिद्धबाबा माध्यमिक विद्यालय ५–४ गोलले क्वाटर फाइनलमा प्रवेश गरेको हो । 

छैटौँ खेल ब्रिलियण्ट युनाइटेड एकेडेमी र भाडगाउँ माध्यमिक विद्यालयबिच भयो । निर्धारित समयमा कुनै पनि समूहले गोल गर्न नसक्दा पेनाल्टीमा ब्रिलियण्ट युनाइटेड एकेडेमी ५–४ गोलले क्वाटर फाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार भएको दोस्रो चरण अर्थात् क्वाटर फाइनलको पहिलो खेलमा रिडर्स पब्लिक हाइ स्कुलले जनसहयोग माध्यमिक विद्यालयलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा लिटिल स्टार इङ्गलिश बोर्डिङ स्कुलले अर्जुन आवासीय माध्यमिक विद्यालयलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । तेस्रो खेल महेन्द्र नमुना माध्यमिक विद्यालय र रेसुङ्गा माध्यमिक विद्यालयबिच भएको छ । निर्धारित समयमा कुनै पनि समूहले गोल गर्न नसक्दा पेनाल्टीमा महेन्द्र नमुना माध्यमिक विद्यालय ८–७ गोलले सेमी फाइनलमा प्रवेश गरेको हो । 

चौथो खेलको निर्धारित समयमा सिद्धबाबा माध्यमिक विद्यालय ब्रिलियण्ट युनाइटेड एकेडेमीलाई ४–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको सेमिफाइनल शनिबार बिहानदेखि सुरु भएको छ । सेमिफाइनलको पहिलो खेलको निर्धारित समयमा रिडर्स पब्लिक हाइ स्कुलले लिटिल स्टार इङ्गलिश बोर्डिङ स्कुललाई ३–० गोलले पराजित गर्दै फाइनल खेलमा प्रवेश गरेको हो । 

दोस्रो खेलमा सिद्धबाबा माध्यमिक विद्यालयले महेन्द्र नमुना माध्यमिक विद्यालयलाई १–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल दिउँसो सिद्धबाबा माध्यमिक विद्यालय र रिडर्स पब्लिक हाइ स्कुलबिच हुनेभएको छ । 

पुलचोक कप–२०८१ विजेताले ३३ हजार ३३३ रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले २२ हजार २२२ रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । महिला खेलाडीको पहिचानसँगै महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले क्लब स्थापनादेखि नै छात्रा फुटबल प्रतियोगिता सञ्चालन गर्दैआएको क्लबका अध्यक्ष सन्तोष न्यौपानेले बताउनुभयो ।