• १६ भदौ २०८१, आइतबार

बिरामी बोकेको एम्बुलेन्समा आगलागी

blog

आगलागी भएपछि जलेर नष्ट भएको एम्बुलेन्स ।

राधाकृष्ण डुम्रे

वालिङ, भदौ १५ गते । स्याङ्जाको वालिङबाट बिरामी बोकेर पोखरातर्फ गइरहेको एम्बुलेन्समा गएराति आगलागी भएको छ । बिरामी बोकेर पोखरा जाँदै गरेको ग १ झ २७८ नम्बरको एम्बुलेन्समा पुतलीबजार नगरपालिका–११ करेन्डाँडामा पुग्दा आगो लागेको हो । 

एम्बुलेन्समा आगो लागेपछि बिरामीलाई तत्काल बाहिर निकालेको एम्बुलेन्स चालक देवप्रसाद रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “एम्बुलेन्स चलिरहेको बेला गन्ध आयो र तत्काल हेर्दा मेरो बायाँतर्फ रहेको कागजात राख्ने बक्सबाट आगो बाहिर निस्कियो हामी अत्तालिँदै गाडीबाट बाहिर निस्कियौँ र ज्यान बचायौँ ।” 

आफू विगत चार वर्षदेखि सो एम्बुलेन्स चलाउँदै आएको रेग्मीको भनाइ छ । वालिङको गह्रौँ प्राथमिक अस्पतालको मातहतमा रहेको सो एम्बुलेन्स टाटा कम्पनीको रहेको र २०१५ मोडल भएको अस्पतालका प्रतिनिधिहरूले जनाएका छन् । एम्बुलेन्समा कसरी आगलागी भयो भन्नेबारे बुझ्ने काम भइरहेको अस्पतालका सूचना अधिकारी उदय पौडेलले बताउनुभयो । 

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।