• २८ पुस २०८१, आइतबार

कहीँ नभएको जात्रा गण्डकीमा, हुनुहुन्न: सञ्चार मन्त्री गुरुङ

blog

प्रेस चौतारी गण्डकीले शनिवार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ । तस्बिर: फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, भदौ १५ गते । नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशमा नेपाली काँग्रेसले अराजनीतिक अडान लिइरहेको टिप्पणी गर्नुभएको छ । प्रेस चौतारी कास्कीले शनिवार पोखरामा आयोजना गरेको कार्यक्रममा उहाँले सङ्घीय गठबन्धनकै मर्मबमोजिम गण्डकीमा सरकार पुनर्गठन हुनुपर्नेमा जोड दिनुभयो । 

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका गुरुङले भन्नुभयो, “मुख्यमन्त्रीले गठबन्धनको संस्कार र राजनीतिक इमानदारी देखाउनुपर्छ । उहाँले अराजनीतिक कुरा गरिरहनुभएको छ, यो उहाँको निजी शासन त होइन ।” गण्डकीमा एमालेबाहेक नै बहुमतमा रहनुभएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र र नेपाल समाजवादी पार्टीबाट मन्त्री बनेकाहरूलाई यथावत् राख्न चाहेकोतर्फ सङ्केत गर्दै उहाँले यस्तो उल्लेख गर्नुभएको हो । 

मुख्यमन्त्रीले स्वतन्त्र र नेपाल समाजवादी पार्टीबाट मन्त्री बनेकाहरूलाई हटाउन नचाहेमा आफ्नै कोटाबाट राख्नुपर्नेमा उहाँको जोड छ । सरकारका प्रवक्ता गुरुङले यही वर्षभित्र सङ्घीय प्रहरी ऐन र सङ्घीय निजामती ऐन ल्याउन सरकारले पहल गरिरहेको जनाउनुभयो । “यी ऐन आएमा सङ्घीयता धेरै हदसम्म कार्यान्वयन हुन्छ,” उहाँले भन्नुभयो । 

अहिलेको सत्ता गठबन्धन आगामी आम चुनावसम्म चल्ने दाबी गर्दै उहाँले नेपाली समाज र पत्रकारिता जगत् नकारात्मक पक्षमा बढी रमाएको औँल्याउनुभयो । “टिआरसी पास भो, ऐतिहासिकबारे कसैले लेखेन,” उहाँले भन्नुभयो, “हामी भारत वर्षमा छौँ, महाभारत हामीलाई मन पर्छ । लडाइँ, झगडा मन पराउने संस्कार बस्यो नि ।” 

सञ्चार क्षेत्रलाई आधुनिक बनाउन आवश्यक सबैजसो ऐन यही वर्ष ल्याई सक्ने योजना उहाँले सुनाउनुभयो । पञ्चायत र त्यसअघिका ऐनमार्फत सरकारी सञ्चार माध्यमहरू चलिरहेको औँल्याउँदै उहाँले अब ती ऐनमा परिमार्जन अपरिहार्य भएको जनाउनुभयो । डिजिटल नेपालको अवधारणमा सरकार अघि बढ्ने योजना सुनाउँदै उहाँले त्यसले सुशासन, समृद्धि, सरकारको प्रभावकारीलाई सघाउने उल्लेख गर्नुभयो । 

सेक्युरिटी प्रेस सञ्चालन गरी एक वर्षभित्रै पासपोर्ट, सवारी चालक अनुमति पत्र, अन्तःशुल्क स्टिकर आदि छपाइ गर्ने प्रयत्नमा सरकार रहेको उहाँको भनाइ छ । “यी काम यही एक वर्षभित्र गर्न सक्छु भनेको छु । बैङ्क नोट पनि देशमै छपाइ गर्नुपर्छ,” मन्त्री गुरुङले भन्नुभयो । यही आर्थिक वर्षभित्र देशैभर फोर जी र मुख्य सहरहरूमा फाइभ जी पुर्‍याउने सञ्चार मन्त्रालयको योजना छ । 

मन्त्री गुरुङले नेपालको प्रवर्धन र पर्यटनको विकासका लागि अङ्ग्रेजी च्यानल चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “संसारभरका सबै देशले यसरी च्यानल चलाएका छन् । हामीले पनि एन टिभी वर्ड चलाउनैपर्छ । देशको पर्यटन प्रवर्धन र गौरवका लागि यो जरुरी छ ।”

कार्यक्रम प्रेस चौतारी गण्डकी अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको थियो ।