नेपाली समालोचना लेखनले विविधतामय विशेषताका साथ विभिन्न चरण पार गरेको देखिन्छ । यस क्षेत्रमा शोधखोज र अनुसन्धानमूलक एवं वस्तुपरक/भाषाशैलीपरक समालोचना लेख्ने लक्ष्मणप्रसाद गौतमले उत्तरआधुनिक प्रवृत्तिका साथ उत्तरवर्ती चरणमा समालोचना कृति दिएर विशिष्ट योगदान पु-याउनुभएको छ । सैद्धान्तिक र प्रायोगिक समालोचनाका विविध धार र पक्षमा उहाँका समालोचना केन्द्रित छन् । गौतमद्वारा ‘समकालीन नेपाली कविताको विम्बपरक विश्लेषण’ (२०६४), ‘समकालीन नेपाली कविताका प्रवृत्ति’ (२०६६), ‘आधुनिक नेपाली कविताको बृहत् इतिहास’ (२०८०), ‘रत्न बृहत् नेपाली समालोचना’ (सैद्धान्तिक खण्ड, २०६८), ‘रत्न बृहत् नेपाली समालोचना’ (प्रायोगिक खण्ड, २०६८) र ‘रत्न बृहत् नेपाली समालोचना’ (समालोचनाग्रन्थ, २०७९) आदि मौलिक र सम्पादित गरी तीन दर्जन जति कृति प्रकाशित भइसकेका छन् । करिब डेढ दशकपछि पैरवी प्रकाशनद्वारा प्रकाशित बृहत् आकारको अर्को समालोचनाकृति ‘समकालीन नेपाली कविताका प्रवृत्ति’ (२०८०) दोस्रो संस्करण प्रकाशित भएको छ ।
पाश्चात्य सैद्धान्तिक परम्परालाई आधार बनाएर समकालीन नेपाली कवितामा देखिएका प्रवृत्तिलाई सूक्ष्म अध्ययन गरी नेपाली साहित्यमा लेखिएको पछिल्लो समालोचनात्मक किताब ‘समकालीन नेपाली कविताका प्रवृत्ति’ नेपाली समालोचनाको इतिहासमा नवीन अवधारणालाई आत्मसात् गरिएको कविताको पहिलो गहन र महŒवपूर्ण समालोचना कृति हो । यसमा पछिल्लो चरणमा देखा परेका कतिपय नव कविका कवितांश समावेश छन्, जुन यसको महŒवपूर्ण पक्ष हो । यसमा १० परिच्छेदभित्रका ५९ उपशीर्षकमा विविध विषयवस्तुको व्याख्या एवं विश्लेषण गरिएको छ । यस कृतिको पहिलो परिच्छेद ‘कविताको स्वरूप र नेपाली कविताको अति सङ्क्षिप्त रेखाङ्कन’ मा लेखकले नेपाली कविताको सन्दर्भलाई अति सङ्क्षिप्त रेखाङ्कनका साथ प्रस्तुत गरेकाले कविताको इतिहासको महŒवपूर्ण आधार सामग्री बनेको छ ।
‘आधुनिकताको सैद्धान्तिक स्वरूप’ मा आधुनिकताको सैद्धान्तिक स्वरूपलाई लेखकले स्पष्ट पारेका छन् भने तेस्रो परिच्छेद ‘समकालीनताको सैद्धान्तिक स्वरूप’ अन्तर्गत आधुनिकता र समकालीनताको सम्बन्धमा देखिएका मतमतान्तरहरूको विश्लेषण गरी सप्रमाण निष्कर्षसमेत दिइएको यस ग्रन्थ मानक ग्रन्थका रूपमा आएको छ । ‘नेपाली कवितामा समकालीनता’ भित्र समकालीनताको नेपाली सन्दर्भ प्रस्तुत गर्दै यसको परिवेश, मोड, आन्दोलन तथा अभियानहरूले नेपाली कवितामा पारेको प्रभावका कारण देखिएका नवीन चिन्तन एवं दृष्टिकोणमा केन्द्रित रहेकाले यसको महŒव झनै पुष्टि भएको छ ।
‘समकालीन नेपाली कविताको प्रवृत्ति विश्लेषणको प्रारूप’ मा सात वटा पक्षबाट समकालीन नेपाली कविताका प्रवृत्तिहरूको विश्लेषण लेखकले तथ्याङ्क, तर्कसङ्गत र यथार्थवादी कोणबाट गरेको हुँदा यसको उपादेयता प्रस्ट झल्किएको छ । छैटौँ ‘समकालीन नेपाली कविताको वस्तुविश्लेषण’ मा समकालीन नेपाली कविताको वस्तुविश्लेषण गरिएको हुँदा यो ग्रन्थ विशिष्ट छ । ‘समकालीन नेपाली कविताका अन्य नवप्रवृत्ति’ एउटा शीर्षक नै थप गरी लेखकले पछिल्लो समयका नेपाली कवितामा देखिएका अन्य विविध नवप्रवृत्ति, वस्तु र शैलीमा देखिएका नवीन दृष्टिकोण प्रस्तुत गरेकाले बौद्धिक प्रतिरूपको यस कृति विशिष्ट र उपलब्धिपूर्ण रहेको छ ।
आठौँ परिच्छेद ‘समकालीन नेपाली कविताका विविध पक्षको विश्लेषण’ अन्तर्गत सहभागी, परिवेश, उद्देश्य र दृष्टिविन्दुको विश्लेषण गरिएको छ भने ‘समकालीन नेपाली कविताको भाषाशैलीय बनोटको विश्लेषण’ अन्तर्गत भाषाशैलीय विन्यासको विश्लेषण गरिएको यो ग्रन्थ निकै गहकिलो र अर्थपूर्ण रहेकाले यस विषयको प्रामाणिक सामग्री बन्न पुगेको छ । अन्तिम ‘उपसंहार ः प्रमुख निष्कर्ष’ परिच्छेद उपसंहारका रूपमा प्रस्तुत छ ।
विसं २०३६ यताका नेपाली कविताको अध्ययन, अनुसन्धान नभएको सन्दर्भमा ‘समकालीन नेपाली कविताका प्रवृत्ति’ जस्तो ग्रन्थ आउनु यस विषयमा लेखिएको पहिलो ग्रन्थ हो भन्न सकिने प्रशस्त आधार रहेका छन् । विस्तृत र व्यापक विश्लेषण गरिएको यस ग्रन्थमा २०६२÷६३ यताका नेपाली कवितामा देखिएका पहिचानका स्वर, पर्यावरणीय चेतनालगायतका अनेकौँ नवआयामलाई समालोचकले यहाँ स्पष्ट पार्नुले यसको महŒव अझै प्रस्ट भएको छ ।
नेपाली समालोचना परम्परामा यसप्रकारको ग्रन्थ लेख्ने हिम्मत आजसम्मका समालोचकले गरेको देखिँदैन । अत्यन्त जटिल विषय क्षेत्रमा पूरै हिम्मतका साथ लेखकले समकालीन नेपाली कविताको मर्म केलाउने काम गर्नुभएको देखिन्छ । यो अनुसन्धान नितान्त वस्तुनिष्ठ भाषामा प्रकाशन हुनुले नेपाली वाङ्मयलाई समृद्ध तुल्याउनुका साथै नेपाली वाङ्मयका पाठकका लागि ऐतिहासिक महŒवको सामग्री रहेको छ । नेपाली कविताको इतिहासमा आजका नेपाली कविताका प्रवृत्तिगत दृष्टिले बहुलतामय र विविधतामय नवीनतम विषय र क्षेत्रमा पृथक् र विशिष्ट कृति भएकाले यो नेपाली समालोचना परम्पराकै
‘इन्साइक्लोपेडिया’ हो भन्ने विश्वास अझ बढेको छ । अभिधात्मक, व्यङ्ग्यात्मक र ध्वन्यात्मक शब्दशक्तिको प्रयोगले कविताको एउटै मात्र अर्थ हुन्छ भन्ने सत्यलाई उल्ट्याइदिएको छ र कुनै पनि कुरा बहुअर्थमा आधारित हुन्छ भन्ने कुरा देखाइएको छ । यसले कविताको नयाँ परिभाषा निर्माण गरी कवितालाई चिनाउने काम गरेको हुँदा परिवर्तित समय र सन्दर्भ अनुसार सैद्धान्तिक स्पष्टतालाई सप्रमाण पुष्टि गरिएको छ ।
नेपाली समालोचना परम्परामा नवीन सैद्धान्तिक एवं प्रायोगिक सिद्धान्तको यस्तो ग्रन्थ प्रकाशनले एउटा महŒवपूर्ण इतिहास निर्माण गरेको छ । समालोचकको कठिन जिम्मेवारी, अथक साधनाको प्रतिफलपछि तयार पारिएको यस्तो गहकिलो ग्रन्थ ‘समकालीन नेपाली कविताका प्रवृत्ति’ (दोस्रो संस्करण, २०८०) नेपाली समालोचनाको ग्रन्थमणि बनेको छ । यस ग्रन्थले नवीन मान्यतालाई नेपाली समालोचनामा विशिष्ट दृष्टिकोण प्रस्तुत गरेकाले समकालीन नेपाली कविताको मूलधार, प्रवृत्ति, अवस्था, स्थिति आदिलाई तथ्यहरूका आधारमा निरूपण गरिएको छ । ‘समकालीन नेपाली कविताका प्रवृत्ति’ जम्मा ७५८ पृष्ठमा संरचित करिब ५४२ जना कविका ९७२ वटा कविताका प्रवृत्तिबारे चर्चा गरिएको छ । यस ग्रन्थ पूर्णतया अनुसन्धान पद्धतिमा आधारित भएकाले नेपाली समालोचना र समालोचनाका पाठक, अनुसन्धाता, गम्भीर अध्येता र कविहरूका लागि निकै महŒवपूर्ण र बहुउपयोगी ग्रन्थसमेत हुन पुगेको छ ।