• १६ भदौ २०८१, आइतबार

भीमेश्वरमा धार्मिक पर्यटकको भिड

blog

दोलखा समाचारदाता

दोलखा, भदौ १५ गते  । सदरमुकाम चरीकोटस्थित भीमेश्वर नगरपालिका–२ को ऐतिहासिक सहर दोलखामा अवस्थित भीमेश्वर मन्दिरमा दर्शन गर्ने धार्मिक पर्यटकको भिड लाग्न थालेको छ । 

गत साउन महिनामा दुई पटक शिलामा पसिना आएपछि यहाँ आउने धार्मिक पर्यटकको सङ्ख्या बढेको भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समिति कोषाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार देशमा अनिष्ट हुने वा परिवर्तनको सङ्केतका रूपमा भीमेश्वरको शिलामा पसिना आउने धार्मिक विश्वासका रूपमा पछिल्लो एक महिनामा भीमेश्वर मन्दिरमा दर्शन तथा पूजा गर्न आउने धार्मिक पर्यटकको सङ्ख्या बढेको हो । पर्यटक धैरे आउने मौसम नभए पनि एक महिनामा धैरै धार्मिक पर्यटकले भीमेश्वरको दर्शन गरेका छन् । शनिबार र मङ्गलबारबाहेक अरू दिन फाट्टफुट्ट आउने गरेकोमा अहिले एक सय जनाभन्दा बढी आउने गरेका छन् । भीमेश्वरको शिलामा पसिना आएपछि राजकीय पूजादेखि भारतका चर्चित धार्मिक गुरु काली बाबाले एक हप्ताअघि आफ्ना दलबलसहित भीमेश्वरमा क्षमा पूजा गर्नुभएको छ । भारतका चर्चित बाबाहरूको उच्चस्तरीय भ्रमणले भारतीय पर्यटक दोलखा ल्याउनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ । 

भीमेश्वरको शिलामा एक महिनाअघि दुई पटक पसिना आएको थियो । शिलामा पसिना आएको यो २१ औँ पटक हो । दायाँपट्टिबाट पसिना आउँदा राज्य सञ्चालक पक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक विश्वास रहेको छ । भीमेश्वरको शिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारहरूले तान्त्रिक विधिबाट क्षमा पूजा गर्ने गरेका छन् । भीमेश्वर मन्दिर आउने धार्मिक पर्यटकलाई नै लक्षित गरेर दोलखा बजारमा सुविधासम्पन्न एक दर्जनभन्दा बढी होटेल खुलेका छन् ।