• १८ साउन २०८२, आइतबार

‘संस्कृतिको जगेर्ना अनिवार्य सर्त’

blog

लोकदोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य डा. शशाङ्क कोइराला ।

नवलपरासी समाचारदाता

कावासोती, साउन १८ गते । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले लोकसंस्कार र संस्कृतिको जगेर्ना आजको अनिवार्य सर्त भएको बताउनुभएको छ । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ पूर्ण बैठक तथा पाँचौँ घुम्ती बैठक तथा विविध सांस्कृतिक कार्यक्रमका सन्दर्भमा नवलपुरको ऐतिहासिक र गौरवशाली परियोजना अन्तर्गत कावासोती नगरपालिका–६ मा निर्माणाधीन आमाघर तथा लोक सांस्कृतिक सङ्ग्रहालयको शनिबार उद्घाटन गर्दै उहाँले लोकदोहोरी क्षेत्रमा भएका कार्य हाम्रो पहिचान भएकाले तिनको विकासका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले नेपाली कांग्रेसले लोकसंस्कृतिको विकासलाई प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गर्दै लोकदोहोरी गीत प्रतिष्ठानले नवलपुरबाट गर्न लागेको अभियानले सबैलाई उत्साही बनाएको बताउनुभयो । समाज परिवर्तनको दिशामा अघि बढिरहेको भन्दै उहाँले समाजले अपेक्षा गरेका हरेक कुरालाई सम्बोधन गर्न सके मात्र मुलुकमा स्थायित्व हुने स्पष्ट गर्नुभयो । कांग्रेस मुलुकमा स्थायित्व ल्याउन सरकारमा सहभागी भएको उहाँको भनाइ थियो । कांग्रेसका पूर्वमहामन्त्री डा. कोइरालाले नेपाली कांग्रेसप्रति जनताको आशा र भरोसा विगतमा भन्दा अहिले बढ्दै गएको उल्लेख गर्नुभयो । डा. कोइरालाले बिपीको बाटो कांग्रेसले छोडेको भन्ने यदाकदा सुुन्नमा आए पनि त्यसमा सत्यता नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेस बिपीको विचारबाट कहिल्यै विचलित हुँदैन, यही विचारका आडमा पार्टीले सफलता हासिल गरेको हो ।” 

लोकदोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्ष बद्रीनाथ घिमिरेको सभापतित्वमा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य रोशनबहादुर गाहामगर, लोकदोहारी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रीता थापालगायतका वक्ताले नवलपुर लोकदोहोरी प्रतिष्ठानले आमाघर स्थापना गरेर सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभएको थियो ।