• १६ भदौ २०८१, आइतबार

सांसदसँग कार्यकर्ताको गुनासो

blog

हरि कोइराला

उर्लाबारी, भदौ १४ गते । सदस्यता नवीकरण गर्न नेपाली कांग्रेसका क्रियाशील सदस्यहरू अनिच्छुक देखिएका छन् । मोरङको पथरीशनिश्चरे १ स्थित हरियाली सामुदायिक वनको सभा हलमा शुक्रबार भएको सांसदसँग भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले वडावडामा क्रियाशील सदस्य नवीकरण गर्न आउनेको सङ्ख्या आधा घटेको बताउनुभयो । 

पार्टी कब्जा गर्ने तरिकाले आफन्त नातेदारलाई क्रियाशील सदस्यता दिएको र ती सदस्यले स्वतः स्फूर्त रूपमा सदस्यता नवीकरण नगरेको वडाका कार्यकर्ताहरूको भनाइ छ । नेपाली काङ्ग्रेसको मोरङ क्षेत्र नं. ३ ले आयोजना गरेको कार्यक्रममा निर्वाचन क्षेत्रका २६ वटै वडाका कार्यकर्ताले नेताहरूले चुनावमा गरेका प्रतिबद्धता पुरा नगरेको भन्दै आक्रोश पोखेका थिए । त्यसरी आक्रोश पोख्नेमा पूर्व महाधिवेशन प्रतिनिधि देखि वडाका सभापति सम्म थिए । 

गुनासो र आक्रोश सुनेपछि सांसद डाक्टर सुनिलकुमार शर्माले प्रचण्ड सरकारको पालामा तत्कालीन अर्थमन्त्री डा.प्रकाशशरण महतले मोरङ–३ लाई एकै रुपियाँ नदिएको बताउनुभयो । सरकारले आफूलाई पक्राउ गरेर बोल्न समेत नदिएको बताउँदै निवर्तमान अर्थमन्त्री वर्षमान पुन आएपछि मोरङ –३ मा १ अर्ब रुपियाँ विनियोजन भएको बताउनुभयो ।

उहाँले सरकारी मात्र होइन, दातृ संस्थाबाट आउने विकास बजेट पनि मोरङ–३ मा आएको बताउँदै अबको ३ वर्षमा सबै प्रतिबद्धता पुरा गर्ने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो, "छिटोछिटो सरकार परिवर्तन हुँदा ४० वर्ष पुरानो सुकुम्वासी समस्या सम्बोधन नहुन नसकेको हो । हामीले नदी किनार, जङ्गल र सडक किनारमा बसेका बाहेकका सुकुम्वासीलाई जग्गा नाप गरी निस्सा वितरण गरिसकेका छौँ । त्यो निस्सा पाउने सबै जग्गाधनी बन्नुहुन्छ ।" 

शर्माले पूर्वाञ्चल विश्वविद्यालयमा यही वर्षदेखि एमबिबिएस पढाइ सुरु हुने बताउँदै यो हाम्रो निर्वाचन क्षेत्रको सबैभन्दा ठुलो हुने दाबी गर्नुभयो । डाक्टर शर्माले काङ्ग्रेसमा देशभरि सबैभन्दा कम आन्तरिक विवाद भएको निर्वाचन क्षेत्र मोरङ–३ भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो–१५ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने देशको एक मात्र निर्वाचन क्षेत्र मोरङ–३ बनाएर देखाउने छौँ । 

नेपाली कांग्रेसका नेता वसन्त भट्टराई पार्टी सभापति शेरबहादुर देउवाले भातृ संस्था कब्जा गरेर राख्दा काङ्ग्रेस देशभर कमजोर भएको बताउनु भयो । उहाँले जतिले स्वतःस्फूर्त सदस्यता नवीकरण गर्नुहुन्छ । उहाँहरू मात्र पार्टीको कार्यकर्ता हुने बताउँदै १५ बोरा भुस भन्दा २ बोरा चामलको मूल्य बढी हुने तर्क गर्नुभयो । 

मोरङ–३ का क्षेत्रीय सभापति गणेश खड्काको सभापतित्वमा भएको कार्यक्रममा कोशी प्रदेश सदस्य शिवप्रसाद ढकाल,मित्रसेन योन्जन, पूर्व प्रदेश सांसद सुयर्माराज राई, बेलबारी नगरपालिकाकी उप प्रमुख नितु थापा लगायतले बोल्नु भएको थियो ।