• १६ भदौ २०८१, आइतबार

चट्याङको जोखिम बढ्दै

blog

चट्याङबाट मानवीय क्षति भोगिरहने दैलेखको महाबु गाउँपालिकाको डुग्रीगाउँ । तस्बिर : रजनी योगी

रजनी योगी 

सुर्खेत, भदौ १४ गते । गत शनिबार साँझ चट्याङ पर्दा दैलेखमा पाँच जना घाइते भएका छन् । महाबु गाउँपालिका–२, डुग्रीका खड्कबहादुर सुनारको घरमा चट्याङ पर्‍यो । चट्याङले उहाँका २३ वर्षीय छोरा नगेन्द्र सुनार, २९ वर्षीय डिलबहादुर सुनार र उहाँका भाइका छोरा नौ वर्षीय महेश सुनार घाइते हुनुभयो । यस्तै चट्याङकै कारण भगवतीमाई गाउँपालिका–१, गन्मराकका २६ वर्षीय रेसम थापा पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । गुराँस गाउँपालिका–३, टोटेपोखराकी १४ वर्षकी बाटुली शाही पनि घाइते हुनुभएको छ । दैलेखका प्रहरी प्रमुख सुनील दाहालका अनुसार चट्याङबाट घरमा पनि क्षति पुगेको छ ।

कर्णालीका अन्य जिल्लाभन्दा दैलेखमा चट्याङका घटना धेरै हुने गरेका छन् । जसबाट मानवीय र धनजनको क्षति हुने गरेको छ । गत वर्ष मात्रै दैलेखको महाबु गाउँपालिकामा चट्याङ परेर दुई जनाले ज्यान गुमाए भने ५० जनाभन्दा बढी घाइते भएका थिए । २०८० भदौ २८ मा महाबु–१, खरीगैरामा चट्याङ पर्दा एक जनाको मृत्यु भयो । ४२ वर्षीय भूमिसरा खत्रीको मृत्यु भएको हो । त्यसै गरी २०८० असोज १ गते चट्याङ लागेर महाबु गाउँपालिका–३, बासीका १६ वर्षीय किशोर दाहालको मृत्यु भएको थियो । यो पालिकामा मात्र गत वर्षमा दुई जनाले चट्याङबाट ज्यान गुमाउनु प¥यो । बर्सेनि चट्याङका कारण मानवीय र पशुचौपायाको क्षति हुन थालेपछि महाबु गाउँपालिकाका बासिन्दा त्रसित हुने गरेका छन् । हरेक वर्ष चट्याङका कारण ज्यान गुमाउनु परिरहेको महाबु गाउँपालिका–२ का वडाध्यक्ष प्रकाश थापाले बताउनुभयो । यो वर्ष मात्र वडामा चार÷पाँच पटक चट्याङ परिसकेको उहाँले जानकारी दिनुभयो । शनिबार साँझ वडाका तीन जना घाइते भएको र प्रदेश अस्पतालमा उपचार भइरहेको थापाको भनाइ छ ।

पछिल्लो समय चट्याङका घटनामा वृद्धि भएको महाबुकै वडा नं. २ का ८१ वर्षीय दलबहादुर गुरुङ बताउनुहुन्छ । चड्केनीले मानवीय क्षति बढी हुने गरेको भन्दै उहाँले गाउँ चट्याङ पर्ने गाउँका रूपमा परिचित भइरहेको बताउनुभयो । चट्याङबाट बच्ने कुनै उपाय नभएपछि गाउँले मेघ गर्जन सुरु हुनासाथ घरभित्र बस्ने गरेको समेत गुरुङले जानकारी दिनुभयो । 

चट्याङबाट बर्सेनि क्षति हुने गरे पनि किन चट्याङ पर्छ र कसरी जोगिने भन्नेबारे स्थानीयलाई सचेतना भने छैन । न त कसैले यसबारे उनीहरूलाई सम्झाएको छ । यस्तो प्राकृतिक विपत्तिमा पर्नेलाई राज्यले क्षतिपूर्तिसमेत निकै न्यून दिने गरेकोे छ । चट्याङको पीडा खेप्न नसकेको गाउँका झन्डै एक दर्जन परिवार बसाइँसराइ गरेको स्थानीय बताउँछन् । कर्णाली प्रदेशभर विगत चार वर्षमा चट्याङ लागेर २२ जनाले ज्यान गुमाएका छन् । 

मनसुनी वर्षाको अवधिभर प्रदेशमा चट्याङले त्रास सिर्जना गर्दै आएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतको चार वर्षको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष चट्याङका घटना बढिरहेका छन् । आर्थिक वर्ष २०७७/७८ मा चट्याङमा परेर सात जनाको मृत्यु भएको थियो । आव २०७८/७९ मा छ जनाको मृत्यु भयो । त्यसै गरी आव २०७९/८० मा तीन जनाको मृत्यु भयो भने आव २०८०/८१ मा छ जनाको मृत्यु भयो । चालु आवको हालसम्ममा चट्याङमा परेर एक जनाको ज्यान गएको छ । प्रदेशमा मनसुनजन्य विपत्बाट भएको मानवीय क्षतिको विश्लेषण गर्दा लगभग आधा जति मानवीय तथा भौतिक क्षति चट्याङबाटै हुने गरेको छ ।

सतर्कता कम

चट्याङले बर्सेनि क्षति पुर्‍याउने गरेको भए पनि तीन तहकै सरकारले चट्याङसम्बन्धी कुनै पनि चासो दिएको पाइँदैन । फाट्टफुट्ट प्रदेशभरिबाटै यसरी आएका क्षति विवरण एक ठाउँमा राख्ने हो भने चट्याङ विपत् निकै भयावह छ । यसले पुर्‍याउने क्षति अन्य विपत्को भन्दा कम छैन । तुलनात्मक रूपमा चट्याङको पूर्वतयारी र सुरक्षाका विधिलाई सरकारले गम्भीरतापूर्वक लिएको देखिँदैन ।