• २८ पुस २०८१, आइतबार

पोल र तार देखियो, देखिएन बिजुली

blog

फाइल तस्बिर ।

उत्तरकुमार साहु

सल्यान, भदौ १३ गते । सल्यानमा विद्युतीकरणका लागि बर्सेनि करोडौँ रुपियाँ खर्च भइरहेको भए पनि जिल्लाका २१ हजार ८०४ परिवार अझै पनि अँध्यारोमा बस्न बाध्य छन् । ग्रामीण भेगमा रहेका बस्तीमा विद्युतीकरण गर्न ढिलाइ हुँदा स्थानीयले उज्यालो देख्न पाएका छैनन् ।

नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार जिल्लाका ६० प्रतिशत घरधुरीमा मात्रै बिजुली पुगेको छ । बाँकी ४० प्रतिशत घरधुरी अँध्यारोमै बस्न बाध्य छन् । केन्द्रका अनुसार जिल्लामा रहेका ५४ हजार ६७२ घरधुरीमध्ये ३२ हजार ८६८ घरधुरीमा मात्रै बिजुली बलेको छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार जिल्लामा २४ हजार ७७५ घरधुरीमा मात्रै बिजुली पुगेको छ । कतै विद्युत्को लाइन नै विस्तार भएको छैन भने लाइन विस्तार भएको ठाउँमा पनि वर्षौंसम्म बत्ती बलेको छैन । अहिले पनि स्थानीय बासिन्दा रातिको समयमा बत्तीका लागि सौर्य टुकी, मटितेलबाट लालटिन, टुकी र सल्लोको झरो बाल्ने गरेका छन् ।

कालीमाटी गाउँपालिका–७, घुइँयाबारीका विद्यार्थी यामकली बस्नेतले आफ्नो गाउँमा पोल र तार तानिएको भए पनि बिजुली देख्न नपाएको दुःखेसो पोख्नुभयो । उहाँले बत्ती नहुँदा घरमा अबेरसम्म पढ्न नपाएको, विद्यालयमा कम्प्युटर विषय भए पनि बत्ती नहुँदा कम्प्युटर नचल्ने अवस्था रहेको उल्लेख गर्नुभयो । रातिको समयमा कोही बिरामी भएमा समस्या हुने गरेको र शौचालय जानका लागि बाहिर निस्कनै गाह्रो हुने गरेको स्थानीय कर्णबहादुर घर्तीले बताउनुभयो । बत्ती नहुँदा कुटानीपिसानी गर्ने मिल सञ्चालनमा पनि समस्या भएको छ । यस्तै इलेक्ट्रिक पसल, वर्कसप, ग्रिललगायतका व्यवसाय सञ्चालन गर्न नसकिएको व्यवसायी बताउँछन् ।

जिल्लाभरमा पूर्ण विद्युतीकरणका कार्यक्रम सञ्चालन भइरहेकाले करिब ६० प्रतिशत घरधुरीमा बिजुली पुगेको वितरण केन्द्रका प्रमुख दिनेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै शारदा नगरपालिकामा ९७.५५ प्रतिशत र सबैभन्दा कम कालीमाटी गाउँपालिकामा ४४.७० प्रतिशत विद्युतीकरण गरिएको छ । कार्यालयका अनुसार शारदा नगरपालिका–३ र ४ पूर्ण रूपमा विद्युतीकरण भइसकेका छन् भने वनगाड कुपिण्डे नगरपालिका–१२ मा रहेका ३९६ घरधुरीमध्ये अहिलेसम्म दुई घरमा र कालीमाटी गाउँपालिका–७ मा रहेका ५६३ घरधुरीमध्ये अहिलेसम्म चार घरमा मात्रै बिजुली सेवा पुगेको छ । जिल्लामा अहिले पूर्ण विद्युतीकरणका लागि भन्दै विभिन्न ठेक्का सम्झौताका काम भइरहेका छन् । जिल्लाका सबै पालिकामा २०८२ असार मसान्तसम्म विद्युतीकरण गर्ने भनेर आधा दर्जन ठेक्का लागेका छन् तर त्यतिले मात्रै सबै घरपरिवार बिजुलीको पहुँचमा नपुग्ने केन्द्रका प्रमुख पौडेलले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा पूर्ण विद्युतीकरणका लागि अहिले चलिरहेका ठेक्काबाहेक ६४ करोड ४३ लाख रुपियाँ अपुग देखिएको छ । यसका लागि ११ केभी लाइन लम्बाइ १२९ किलोमिटर, २३०/४०० भोल्ट लाइन ४१७ किलोमिटर र ६६ थान ट्रान्सफर्मरको आवश्यकता पर्ने उहाँको भनाइ छ । दाङ–सल्यान लाइनको लम्बाइ धेरै हुँदा विद्युत् चुहावट १३ प्रतिशत रहेको, गत वर्षमा जिल्लाभर २४७ वटा काठका पोल बदलिएका र विद्युत् महसुल नतिर्ने २८ ग्राहक कालो सूचीमा राखिएको उहाँले जानकारी दिनुभयो ।

विकटमा सौर्य ऊर्जा

जिल्लामा राष्ट्रिय प्रसारण लाइन जोड्ने गरी विद्युतीकरणका काम भइरहेका छन् तर दुर्गमका दुई/चार घरधुरीको मात्रै बसोबास भएको बस्तीमा वैकल्पिक रूपमा सौर्य ऊर्जाको तयारीसमेत गरिएको छ । कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले दुई वर्षभित्रमा पालिकालाई पूर्ण विद्युतीकरण गर्ने गरी दुई चरणमा काम भइरहेको बताउनुभयो । विद्युत् प्राधिकरण र पालिकाको साझेदारीमा एउटा र अर्को विद्युत् प्राधिकरणले छुट्टै विद्युतीकरणको काम गरिरहेको उहाँको भनाइ छ ।

विद्युत् प्राधिकरणको पाँच करोड र पालिकाको दुई करोड रुपियाँ गरी सात करोड रुपियाँको साझेदारीमा काम भइरहेको छ । उहाँले भन्नुभयो, “विद्युत् प्राधिकरणले छुट्टै पनि विद्युतीकरणका काम गरिरहेको छ । हाम्रो पालिकामा ८० प्रतिशतभन्दा बढी घरमा बत्ती बलेको छ, बाँकी घरमा तत्कालै बल्छ । लागत धेरै लाग्ने, निकै टाढाका बस्ती, त्यसमा पनि दुई/चार घर मात्रै भएको ठाउँमा सौर्य ऊर्जा जडान गरेर उज्यालोको पहुँचमा ल्याउने योजना छ ।”