• १६ भदौ २०८१, आइतबार

सवारी दुर्घटना न्यूनीकरणका लागि परिणाममुखी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

blog

सरोकारवालासँगको छलफलमा सहभागी गृहमन्त्री रमेश लेखक ।

काठमाडौँ, भदौ १२ गते । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरण हुनेगरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

सवारी दुर्घटनामा परी पछिल्लो समय ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गइरहेको भन्दै गृहमन्त्री लेखकले बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सरोकारवाला पक्षसँगको छलफलमा सो निर्देशन दिनुभएको हो। 

आउने २/३ महिना भित्र सवारी दुर्घटनामा कमी आएको देखिने गरी सम्बद्ध पक्षले परिणाममुखी काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो। उहाँले गृह मन्त्रालय पनि सवारी दुर्घटनामा तानिने भएकाले आफूले सम्बद्ध पक्षलाई त्यसो हुन नदिन सचेत गराउनुपरेको पनि स्पष्ट पार्नुभयो। 

सवारी दुर्घटना हुन नदिनका लागि हरेकले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै गृहमन्त्री लेखकले त्यसका लागि यातायात व्यवस्था परिषद्को फोकल प्वाइन्ट रूपमा काम गर्नुपर्ने पनि बताउनुभयो। सम्बद्ध पक्षबिच दैनिक हुने छलफलले सडक दुर्घटना न्यूनीकरणमा कमी ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पनि उहाँले स्मरण गराउनुभयो। 

छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बजार मूल्यको वृद्धि अनुसार सार्वजनिक यातायातको भाडाको समायोजन गर्नुपर्ने, यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन, २०८० लाई यथाशीघ्र कार्यान्वयन गराउनका लागि पहल गरिदिन सरकारलाई आग्रह गरेको छ। 

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सार्वजनिक यातायातको भाडादर बजार मूल्य वृद्धिको आधारमा समायोजन गर्नका लागि पहल गरिदिन गृहमन्त्री लेखकको ध्यानाकर्षण गराउनुभयो। 

महासङ्घले सडक दुर्घटना न्यूनीकरण र यस क्षेत्रको सुधारका लागि अधिकार सम्पन्न सङ्घीय र प्रादेशिक यातायात प्राधिकरण गठन गर्न माग गर्दै आएको छ।