• ८ मंसिर २०८१, शनिबार

उर्लाबारी रन असोजमा

blog

हरि कोइराला

उर्लाबारी, भदौ १२ गते । मोरङको उर्लाबारीमा आगामी असोज ३ गते उर्लाबारी रनको सातौँ संस्करण आयोजना हुने भएको छ । 

सात वर्षयता सामुदायिक विकास मञ्च उर्लाबारीले संविधान दिवसको अवसरमा हरेक वर्ष उर्लाबारी रनको आयोजना गर्दै आएको छ । यस वर्ष विभिन्न स्थानका १ हजार ५ सय जना रनरले सहभागिता जनाउने अपेक्षा गरिएको संस्थाका अध्यक्ष प्रेम बोहोराले जानकारी दिनुभयो ।

‘स्वास्थ्यका लागि दौड’ भन्ने मूल नाराका साथ आयोजना गरिने प्रतियोगिताको खुलातर्फ पुरुष महिला दुवैतर्फ विजेतालाई ३०/३० हजार, दोस्रोलाई १५/१५ हजार र तेस्रो हुनेलाई १०/१०हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।

यस्तै भेट्रानतर्फ गत वर्ष महिला रनरहरूको सहभागिता रहेको थियो भने यसवर्ष भेट्रान तर्फ पुरुष रनरहरूको मात्रै सहभागिता रहने आयोजकले जनाएको छ । भेट्रान पुरुष रनर विजेताले १० हजार, दोस्रोले ७ हजार, तेस्रोले ५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । खुला र भेट्रानतर्फ १० किलोमिटर दुरीको दौड हुने आयोजकले जनाएको छ ।

यस्तै, १५ वर्षमुनिका बालबालिकाबिच ५ किलोमिटर दौड प्रतियोगिता गरिने भएको छ । जसमा महिला पुरुष दुवैतर्फ प्रथमलाई ५/५हजार, दोस्रोलाई ३/३ हजार, तेस्रोलाई २/२ हजार र चौथोलाई १/१ हजार  रुपियाँ प्रदान गरिने छ ।

यस्तै उर्लाबारी भरिका १५ वर्ष मुनिका रनरहरूको पनि यस पटक छुटै दौड प्रतियोगिता गराइने भएको छ । जसमा केटा र केटी दुवै तर्फ प्रथम हुनेलाई ४/४ हजार, दोस्रो हुनेलाई ३/३ हजार र तेस्रो हुनेलाई १/१ हजार रुपियाँ पुरस्कारका साथै सबै पुरस्कृतलाई मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष बोहोराले बताउनु भयो । यस्तै संस्थाले भदौ १४ गते उर्लाबारीका ३२ वटा माध्यमिक तहका विद्यालयहरूलाई समावेश गराएर हाजिरी जवाफ प्रतियोगिता समेत गराउने भएको छ ।