• १६ भदौ २०८१, आइतबार

पेरिस पारालिम्पिक आजदेखि, पलेसा र भरतको प्रतिद्वन्द्वी तय

blog

पारालिम्पिक खेलाडी पलेसा गोवर्धन र भरतसिंह महता ।

काठमाडौँ, भदौ १२ गते । पेरिस पारालिम्पिक–२०२४ बुधबार (आज) देखि फ्रान्सको पेरिसमा सुरु हुँदैछ । पारालिम्पिकमा भाग लिन नेपाली खेलाडी पेरिस पुगिसकेका छन् ।

तेक्वान्दाेमा सहभागी हुने नेपाली खेलाडी पलेशा गोवर्धन र भरतसिंह महताको प्रतिद्वन्द्वी समेत टुङ्गो लागेको छ । मङ्गलबार निकालिएको ‘ड्र’ बाट दुवै खेलाडीको प्रतिद्वन्द्वी टुङ्गो लागेको प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिनुभयो । 

पेरिसस्थित ग्रान्ड पेलेसमा अगष्ट २९ तारिखमा भरतले पहिलो चरणमा जापानका मित्सुया तानाकासँग प्रतिस्पर्धा गर्नुहुनेछ । उहाँले स्पर्धा के– ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि १२ खेलाडी रहेका छन् । भरत वाइल्ड कार्डमार्फत पारालिम्पिकमा छनोट हुनुभएको हो । 

यस्तै के–४४ क्याटगोरीकै महिला ५७ केजीमुनि पलेसाले भेनेन्जुएलाकी भलेरिया मोराल्सविरुद्ध अगष्ट ३० तारिख खेल्नुहुनेछ । यस स्पर्धामा ११ खेलाडी रहेका छन् । पहिलो चरणमै पराजित हुने खेलाडीलाई रिपाचेज खेल्ने अवसर मिल्ने छैन ।

पलेसाले छनोट चरण पार गर्दै नेपालको प्रतिनिधित्व गर्न लाग्नुभएको हो । गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गर्नुभएको थियो । 

छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी समेत हुनुहुन्छ। पलेशा १९औँ एसियाली खेलकुदमा पनि ऐतिहासिक कांस्य पदक विजेता हुनुहुन्छ । पदकको आशा गरिएकी पलेसासँग टोकियो पारालिम्पिक पनि खेलेको अनुभव छ । त्यस पारालिम्पिकमा पलेशा कांस्य भिडन्तमा चीनकी खेलाडीसँग चुक्नुभएको थियो । 

नेपाली पारा तेक्वान्दो टोली इङ्ल्यान्डको म्याचेस्टरमा एक महिनाको तयारी र प्रशिक्षणपछि जुलाई २५ तारिखमा पेरिस पुगेको हो । तेक्वान्दो टोलीको व्यवस्थापकमा नेपाल तेक्वान्दो सङ्घ एवं नेपाल पारालिम्पिक कमिटीका सदस्य रामचन्द्र श्रेष्ठ रहनुभएको छ । 

पेरिस पारालिम्पिकमा पलेशा र भरतसहित पौडीका भीमबहादुर कुमालले पनि पुरुष ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।