फडिन्द्र अधिकारी
लेखनाथ, भदौ १२ गते । मुस्ताङको बारगुङ मुक्तिक्षेत्र गाउँपालिकामा इलाका प्रहरी कार्यालय मुक्तिनाथको नयाँ भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको तीन करोड ६० लाख लगानीमा तीनतले भवन निर्माण भएको हो ।
भवनसहितको कार्यालय परिसर साढे छ रोपनीमा छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार आयोजित समारोहमा भवन उद्घाटन गर्नुभएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङको संयुक्त आयोजनामा भएको कार्यक्रममा मुख्यमन्त्री पाण्डेले मुक्तिनाथ आउने तीर्थालु, पर्यटक र स्थानीयको शान्ति, सुरक्षामा खटिन नयाँ भवन उपयोग हुने बताउनुभयो ।
समाजमा शान्ति, सुरक्षा कायम राख्न र कानुनी राज्यको अनुभुति दिलाउन प्रहरीको प्रयासमात्र पर्याप्त नहुने जनाउँदै उहाँले स्थानीय नागरिकको मुख्य भूमिका हुने उल्लेख गर्नुभयो। प्रदेश सरकारले प्रहरीलाई अपेक्षाकृत सहयोग गर्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।
“संविधान अनुसार कानुन नबन्दा प्रहरी समायोजन हुन सकेको छैन । समायोजन नहुँदा चाहेर पनि प्रदेश सरकारले आवश्यकता र अपेक्षा अनुसार प्रहरीलाई सबै सहयोग गर्न सकिएको छैन,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो । प्रदेशको शान्ति, सुरक्षाका लागि सरकारले सुरक्षा निकायहरुलाई भौतिक पूर्वाधार, उद्धार सामग्री, उपकरणसहित क्षमता विकासमा सहयोग गर्दै आएको उहाँको भनाइ छ ।
इलाका प्रहरी कार्यालय मुक्तिनाथ यसअघि रानीपौवाको पुरानो धर्मशालाका चार कोठाबाट सञ्चालित थियो । रानीपौवा क्षेत्रको सुरक्षालाई ध्यान दिँदै अब एउटा कोठामा सानो युनिट राखिने र कार्यालय नयाँ भवनबाटै सञ्चालन हुने मुस्ताङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहको अध्यक्षतामा भएको कार्यक्रममा सांसद योगेश गौचन थकाली, मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ध्रुव अधिकारी, बारगुङ मुक्ति क्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नमगेल गुरुङलगायतले बोल्नुभएको थियो ।
इलाका प्रहरी कार्यालय मुक्तिनाथमा प्रहरी निरीक्षकको कमान्डमा अहिले १३ प्रहरी कार्यरत छन् । यो कार्यालय अन्तर्गत इलाका प्रहरी छुसाङ र प्रहरी चौकी कागबेनी पर्छन् । समारोहमा भवन निर्माण र जग्गा प्राप्तिका लागि सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।