तिलाचन पाण्डे
तम्घास, भदौ १२ गते । गुल्मीका चार पालिकामा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिकामा विगत तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले जनाएको छ ।
भदौ १० गते हावाहुरीसँगै आएको चट्याङ र पानीले उनायचौरदेखि धुर्कोट वस्तुमा रहेको सब–स्टेशनसम्म जाने ३३ केभीको लाइनमा क्षति पुगेसँगै चार पालिकामा विद्युत् सेवा अवरुद्ध भएको वितरण केन्द्रले जनाएको छ ।
विद्युत् मर्मत कार्य भइरहेको र अहिलेसम्म उनायचौरको विद्युत् स्टेसनबाट वस्तुको हर्रे भन्ने ठाउँसम्म विद्युत् पुगेको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र गुल्मीका प्रमुख अर्जुन पोखरेलले जानकारी दिनुभयो । कार्यालयले जति सक्दो छिटो विद्युत् सेवा सुचारु गर्नका लागि प्राविधिकसहितको टोली लागेको उहाँको भनाइ छ । कार्यालयमा भएको जनशक्ति सबै खटेर विद्युत् मर्मतको कार्य भइरहेकाले धैर्य गर्न कार्यालयले आग्रह गरेको छ।
गुल्मीको पश्चिमी भेगमा विरवासबाट उनायचौर हुँदै वस्तु सब स्टेशनसम्म विद्युत पुर्याइएको छ । वस्तु सब–स्टेशनबाट धुर्कोट, मालिका, मदाने, इस्मा गाउँपालिका तथा मुसिकोट नगरपालिकाको वडा नम्बर १ र २ मा विद्युत् आपूर्ति भइरहेको कार्यालयले जनाएको छ । विगत तीन दिनदेखि विद्युत् नहुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य हुनुका साथै मोबाइल चार्ज र इन्टरनेट सेवाबाट समेत वञ्चित हुनुपरेको स्थानीयहरुले जनाएका छन् ।