• १६ भदौ २०८१, आइतबार

एन्फा महासचिव राईको मासिक तलब दुई हजार अमेरिकी डलर हुने निर्णय बहुमतले पारित

blog

अखिल नेपाल फुटबल संघ एन्फा

काठमाडौँ, भदौ १२ गते । अखिल नेपाल फुटबल सङ्घ एन्फाका महासचिव किरण राईको मासिक तलब दुई हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ ।

अध्यक्ष नेम्वाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलब दुई हजार अमेरिकी डलर अर्थात् करिब दुई लाख ७० हजार रुपियाँ पुर्‍याउने प्रस्ताव राखेका हुन् । केही सदस्यको असन्तुष्टिका बाबजुद यो प्रस्ताव बहुमतले पारित भएको छ ।

हाल महासचिव किरण राईले एक लाख २० हजार मासिक थियो । बैठकले राष्ट्रिय खेलाडीको तलब १८ हजार रुपियाँबाट मासिक ३० हजार रुपियाँमा वृद्धि गरेको छ । यो निर्णय भने सर्वसम्मतले पारित भएको छ । महासचिव किरण राईले तलब वृद्धिको विषयमा बोल्न चाहेनन् ।

बैठक सकिएको छैन । बैठकबिच प्रवक्ता सुरेश शाहले तलब वृद्धिको निर्णय भएको स्वीकार गरे । बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ । उहाँले नेतृत्ववमा नेपालले १९ खेल खेलेको थियो । जसमा मात्र पाँच जित दिलाएका थिए ।

चार खेलमा बराबरी र १० खेलमा हारको नतिजा आएको थियो । एन्फाले अब खुला प्रतिस्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । बैठक मङ्गलबार बिहान पौने ११ बजे सुरु भएको थियो । रातीसम्म चलेको बैठक बिहीबार बिहानलाई स्थगित गरेको छ । बुधबार साफ अण्डर च्याम्पियनसिपको फाइनलको कारण बिहीबार बैठक जारी रहने प्रवक्ता शाहले बताउनुभयो ।