• १६ भदौ २०८१, आइतबार

प्रकाश तामाङलाई तत्काल नागरिकता दिलाउन प्रधानमन्त्रीको पहल

blog

प्रकाश तामाङलाई नागरिकताको व्यवस्था मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली गृह सचिव एकनारायण अर्याललाई निर्देशन दिनुहुँदै । तस्बिर : प्रधानमन्त्रीको फेसबुकबाट

काठमाडौँ, भदौ १२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’मा प्रकाश तामाङको कथा हेरेपछि उहाँलाई तत्काल नागरिकता दिलाउन पहल गर्नुभएको छ ।

प्रकाशलाई तत्काल नागरिकता आवश्यकता नै रहेको भन्नुहुँदै प्रधानमन्त्री ओलीले मङ्गलबार राति नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीका अनुसार गृह सचिव अर्यालले दुई–चार दिन भित्रमै नागरिक दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ । यसबारे तामाङलाई पनि जानकारी दिइसकेको छ । प्रधानमन्त्री ओलीले नागरिकता प्राप्त गरेपछि तामाङलाई आवश्यक सहयोग गर्ने विषयमा थप छलफल भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘‘शुभ बिहानी !! हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईँलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन । पछि सचिवालयको विद्या चापागाईँ र प्रकाश तामाङसँग सम्पर्क भयो । प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । नागरिकता भए मात्र उहाँको बैङ्क खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ । नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई/चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ । नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।’’