• १६ भदौ २०८१, आइतबार

स्मार्ट बोर्डबाट पठनपाठन

blog

स्मार्ट बोर्डको उद्घाटन गर्नुहुँदै बेनी नगरप्रमुख सुरत केसीलगायत । तस्बिर : ठाकुरप्रसाद आचार्य

बेनी समाचारदाता 

म्याग्दी (बेनी), भदौ १२ गते । म्याग्दीको सदरमुकाम बेनी बजारस्थित प्रकाश माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरिएको छ । शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन विद्यालयले कक्षा १० र ११ मा डिजिटल स्मार्ट बोर्ड जडान गरी पठनपाठन सुरु गरिएको हो । 

कार्यसम्पादन मूल्याङ्कनमा गत वर्ष विद्यालय पहिलो भएर नगरपालिकाबाट प्राप्त गरेको पुरस्कारको तीन लाख र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठबाट स्मार्ट बोर्ड जडानका लागि प्राप्त भएको एक लाख ६० हजार रुपियाँबाट बोर्ड खरिद गरिएको हो । विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमालले दुई वटा स्मार्ट बोर्ड खरिद गरी कक्षा १० र ११ मा जडान गरिएको जानकारी दिनुभयो । 

आइतबार स्मार्ट बोर्डको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले प्रविधिमैत्री सिकाइले विद्यार्थीलाई विद्यालयमा आकर्षित गर्न सकिने बताउनुभयो । नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई क्रमशः प्रविधिमैत्री बनाउँदै लैजाने नगरको योजना भएको उहाँको भनाइ थियो । स्मार्ट बोर्डको प्रयोग गरेर गरिने पठनपाठनले विद्यार्थीलाई प्रविधिको ज्ञान दिन थप सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

आगामी दिनमा विद्यालयका अन्य कक्षालाई पनि प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड जडान गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो । कक्षा ११ र १२ मा पठनपाठन हुने विज्ञान विषयलाई प्रविधिमैत्री बनाउँदै थप विद्यार्थी आकर्षित गर्ने योजना रहेको उहाँको भनाइ थियो ।  

विद्यालयका कम्प्युटर शिक्षक नरबहादुर जिसीले भन्नुभयो, “स्मार्ट बोर्ड बहुउपयोगी छ । आवश्यकता अनुसार भिडियो देखाउन, गुगल सर्च गरी पठनपाठन गर्न सकिन्छ । यसले विद्यार्थीको सिकाइ अभिवृद्धिमा सहयोग पुग्छ ।”