• १६ भदौ २०८१, आइतबार

छात्रा फुटबल प्रतियोगिता आजदेखि

blog

रमेश विश्वकर्मा
गुल्मी, भदौ १२ गते ।
पुलचोक स्पोर्ट्स क्लबले तम्घासको चिदिचौर खेलमैदानमा आयोजना गर्न लागेको ‘पाँचौं पुलचोक कप–२०८१’ को सम्पूर्ण तयारी पूरा गरी आज बुधबारदेखि सुरु हुँदै छ । क्लबको छैटौं वार्षिकोत्सवको अवसरमा पाँचौं पुलचोक कप–२०८१ को आयोजना गरिएको आयोजकले जनाएको छ ।

बुधबारदेखि सुरु हुने पाँचौं पुलचोक कप–२०८१ अन्तर्गतको जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१०) छात्रा फुटबल प्रतियोगिता भदौ १५ गतेसम्म चल्ने बताइएको छ । यस जिल्लामा महिला खेलाडीको पहिचानसँगै महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले विगतदेखि नै छात्रा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको क्ल्बका अध्यक्ष सन्तोष न्यौपानेले बताउनुभयो ।

प्रतियोगितामा सिद्धबाबा माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय, रेसुङ्गा माध्यमिक विद्यालय, उपल्लो तम्घास माध्यमिक विद्यालय, रिडर्स पब्लिक हाइ स्कुल, गण्डकी इङ्गलिश बोर्डिङ्ग स्कुल, अर्जुन आवासीय माध्यमिक विद्यालय, आदर्श विद्या आश्रम, गण्डकी इङ्गलिश बोर्डिङ्ग स्कुल, लिटिल स्टार इङ्गलिश बोर्डिङ्ग स्कुल, रेन्वो इङ्गलिश बोर्डिङ्ग स्कुल, जनसहयोग माध्यमिक विद्यालय, भाडगाउँ माध्यमिक विद्यालय र पालुखा माध्यमिक विद्यालय गरी १४ समूह सहभागी हुने क्लबका उपाध्यक्ष प्रकाश मरासिनीले बताउनुभयो ।

पुलचोक कप–२०८१ विजेताले ३३ हजार ३३३ रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र र उपविजेताले २२ हजार २२२ रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । पाँचौं पुलचोक कप–२०८१ को उद्घाटन रेसुङ्गा नगरपालिका उपप्रमुख अमृता देवी कुँवरले गर्नुहुनेछ । तम्घासमा विगत छ वर्षदेखि क्रियाशील यस क्लबले माध्यमिक विद्यालयस्तरका छात्राहरुलाई हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गरी महिलाहरुको खेलकुद विकासमा योगदान पुर्‍याउँदै आएको छ । टोल–टोलमा सरसफाई, आर्थिक अभावका कारण उपचार पाउन नसकेका मानिसहरुलाई आर्थिक सहयोगसँगै विभिन्न सिर्जनशील कार्य गर्दै आएको बताइएको छ ।