नेपालगन्ज समाचारदाता
नेपालगन्ज, असार १९ गते । बाँके डुडुवा गाउँपालिकाका बाढीपीडित र डुबानपीडितको उपचारका लागि गाउँपालिकाले पाँच शय्याको सामुदायिक आधारभूत अस्पताल निर्माण गरेको छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले राप्ती नदी तटीय क्षेत्रमा बाढी र डुबानका कारण झाडापखाला, हैजा र लुतोसँगै छालासम्बन्धी रोगको सङक्रमणबाट विपन्न समुदायका बासिन्दा बढी प्रभावित हुँदै आएकाले उपचारका लागि सो अस्पताल निर्माण गरिएको बताउनुभयो ।
उहाँले आर्थिक अवस्था कमजोर भएकाले नेपालगन्जका ठुला अस्पतालमा पुगेर उपचार गर्न नसक्दा जोखिममा पर्दै आएकाले उनीहरूको निःशुल्क औषधोपचार गर्न अस्पताल निर्माण गरेर उपचारको व्यवस्था गर्न थालिएको बताउनुभयो ।
अध्यक्ष चौधरीका अनुसार डुडुवा, गन्धैली र सुतैया नालासँगै राप्ती नदीमा आउने बाढीका कारण डुडुवा गााउँपालिकाका अधिकांश बस्ती जलमग्न हुने गर्छन् । तीनतिरबाट नदीले घेरिएको पूर्वको बस्ती चौफेरीका बासिन्दालाई त विपत्को बेला ज्यान जोगाउनै कठिन हुन्छ ।
डुबानका बेला धेरै जसो बिरामी भएर थला पर्ने तर औषधोपचार गर्न सहरबजार जानसमेत नसक्ने हुँदा त्यस्ता प्रभावित क्षेत्रका बासिन्दालाई तटीय क्षेत्रमै उपचार गर्न बाढी आउनुअघि नै डुडुवा गाउँपालिकाले बेतहनीमा अस्पताल सञ्चालनमा ल्याउन लागेको हो ।
राप्ती नदी तटीय बस्ती बेतहनीका रामफेरन गुप्ताले बाढी र डुबानसँगै आउने सरुवा रोगका कारण समयमा उपचार नहुँदा ज्यान नै जोखिममा पर्ने गरेको बताउनुभयो । उहाँले पछिल्ला दिनमा गाउँमै अस्पताल बनेपछि धेरैले उपचार पाउने आशा बढेको बताउनुभयो ।
उहाँका अनुसार राप्ती नदी र नालामा आउने बाढीले यहाँका बस्तीलाई हरेक वर्ष डुबाउने गरेको छ । यो क्षेत्रमा सोही कारणले हरेक वर्ष झाडापखाला र हैजा जस्तो प्रकोप पनि फैलिने गरेको छ ।